ताजा अपडेट »

हलिं नेवाः गुथिको १३ औँ अधिवेशन

शुक्रबार, २७ फागुन २०७८

बुटवल । हलिं नेवाः गुथिको १३ औ साधारण सभा रुपन्देहीमा सम्पन्न भएको छ । विहिबार बुटवल विश्वहिन्दु महासंघ हलमा तिलोत्तमा मैचु पुचको आयोजनामा भएको कार्यक्रमको बुटवल उपमहानगरपालिका नगरप्रमुख शिवराज सुवेदीेले उद्घाटन गरेका थिए ।

नेपालमा भएका सबै जातजातिका धर्म, संस्कृति जगेर्ना गर्न सरकारको ध्यान दिएको दाबी गर्दै बुटवल उपमहानगरपालिकालाई मानवता र सभ्यताको शहर घोषणा गरि आवश्यक कार्यहरु अघि बढाएको दाबी गरे । कार्यक्रममा नगरप्रमुख सुवेदीले संस्थाको वार्षिक स्मारिका (लुमन्ति पौ) पुस्तक विमोचन समेत गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वडा न ३ का वडा सदस्य तथा भिमसेन नेवा समाजका अध्यक्ष लिला प्रसाद श्रेष्ठले नेपालको आदिबासी भएर पनि हरेक क्षेत्रमा पछिपरेको दुखेसो गरे । कार्यक्रममा नेवा पुच नेवा परिषदका निर्वतमान अध्यक्ष ज्ञानु लिगलले रुपन्देहीमा रहेका नेवारहरुलाई एकतावद्घ गरि भाषा र संस्कृतिलाई जगेर्नाको अभियानको थालनी गरेको बताईन ।

देशभर छरिएका नेवारहरुको भेषभुषा, भाषा र संस्कृतिबारे नया पुस्तामा पुस्तान्तरण गर्ने गरि कार्यहरुमा जोड दिनुपर्ने उनले सुझाव दिईन । प्रत्येक वर्ष देशका विभिन्न शाखाहरुमा साधारण सभा गरिदै आएको भन्दै यसपटक सामरिक र पर्यटकिय नगरी रुपन्देहीलाई रोजिएको उनले बताए ।

संस्थाको वार्षिक योजना बनाउने एउटा महत्वपुर्ण अवसर भएको केन्द्रीय अध्यक्ष जुजुमान श्रेष्ठले बताए । देशभरका नेवारहरुलाई हकअधिकार प्राप्त गर्ने लक्ष्यसहित स्थापना भएको संस्थामा एकतावद्घ गराउदै लैजाने लक्ष्य रहेको उनले बताए । नेपालको राष्ट्रिय भाषाको रुपमा संयुक्त राष्ट्र संघमा रन्जना लिपि दर्ता भएको स्मरण गराउदै उनले नेवारी संस्कृति देशको पहिचान भएको बताए ।

हलि नेवा गुठी, बुटवल पुच अध्यक्ष राजु श्रेष्ठले भाषा, संस्कृति जोगाउने र जातिय सहयोगका रुपमा स्थापना भएको भन्दै पवित्र काममा आफुहरुले लागेको बताए । साधारण सभासंगै सहभागीहरुलाई विशेष नेवारी भोजको परिकार पनि खुवाइएको उनले बताए । यसका लागि टिष्टुङ शाखाबाट ४५ जनाको टोलीले सहयोग गरेका थिए । जसमा ८ आईटमको समयवजी र १७ वटा आईटम भएको भोज खुवाईएको थियो । संस्थाको प्रतिवेदन महासचिव सुरेश सैजुले पेश गरेका थिए ।

बुटवलको आयोजक संस्था तिलोत्तमा मैचु पुच अध्यक्ष मिलन श्रेष्ठले कार्यक्रममा देशभर १ सय १८ शाखाका ८ सय जना सहभागी भएको बताउदै पर्यटन प्रवद्र्धनमा यो महत्वपूर्ण भएको बताईन । तिलोत्तमा मैचु पुच ६६ शाखा हो । बुटवलमा ३ वटा शाखाहरु छन । संस्थाको अमेरिका र कोरियामा समेत शाखा रहेका छन ।

नेवारी भेषभुषासहित दुर्गा मन्दिरबाट प्रभातफेरि कार्यक्रम शुरु भएर हाटबजार, अमरपथ, विपि चोक हुँदै हाटबजार विश्वहिन्दु महासंघमा सम्पन्न भएको थियो ।