ताजा अपडेट »

बढ्यो महंगी, माघमा मुद्रास्फीति ५.९७ प्रतिशत

शुक्रबार, २७ फागुन २०७८

काठमाण्डौं । नेपाल राष्ट्र  बैंकले गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो । 

माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ । २०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २० दशमलव ६८ प्रतिशत, १४ दशमलव ०७ प्रतिशत र ९ दशमलव ३६ प्रतिशत रहेको छ । 

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिङ्ग तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति क्रमशः १५ दशमलव ८७ प्रतिशत, ७ दशमलव ८६ प्रतिशत र ५ दशमलव ९२ प्रतिशत रहेको छ । गत माघ महिनामा काठमाडौं उपत्यकामा ५ दशमलव ४७ प्रतिशत, तराईमा ६ दशमलव ५० प्रतिशत, पहाडमा ५ दशमलव ३२ प्रतिशत र हिमालमा ५ दशमलव ९७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ माघमा यी क्षेत्रहरुमा क्रमशः २ दशमलव १२ प्रतिशत, २ दशमलव ७८ प्रतिशत, ३ दशमलव ३० प्रतिशत र २ दशमलव ०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।