ताजा अपडेट »

होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन हुने

शुक्रबार, २७ फागुन २०७८

काठमाडौँ। होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी उक्त व्यवसाय सञ्चालनका लागि जारी ‘मापदण्ड तथा आचारसंहिता’ अपनाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

गृह प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित समितिले रात्रिकालीन मनोरञ्जनप्रधान पर्यटनमूलक व्यवसायलाई समय सान्दर्भिक रूपमा व्यवस्थित र मर्यादित बनाउन अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

प्रतिवेदनले डिस्को–क्लब, पप तथा लाइभ बार, डान्स, दोहोरी र गजललगायतलाई पर्यटनमूलक व्यवसायमा राखेको छ । सामान्य अवस्थामा चौबीसै घण्टा सञ्चालनको वातावरण मिलाउन निर्देशन भएको प्रवक्ता पोखरेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रहरी, व्यवसायी र पेसाकर्मीसँग समन्वय गरी शान्तिपूर्ण र सुरक्षित ढङ्गले सञ्चालनको वातावरण मिलाउनु पर्नेछ ।

सार्वजनिक सदाचार र नैतिकताको आधारभूत मूल्य मान्यता प्रतिकूूल नहुने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने जारी आचारसंहितामा उल्लेख छ ।
प्रत्येक व्यवसाय प्रचलित कानुनबमोजिम आवश्यक दर्ता प्रक्रिया पूरा गरी सञ्चालन हुनुपर्ने छ । अश्लील नृत्य पूर्ण रूपमा निषेध गरी मौलिक र सीपमूलक नृत्यहरू प्रस्तुत गरी आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने मनोरञ्जन प्रदान गर्नुपर्ने छ ।

त्यस्तै कामदारलाई पदअनुसार पोसाक, परिचयपत्र खाना–नास्ता तथा व्यवसायस्थलदेखि घरकोठा पुग्न यातायात व्यवस्था मिलाउनुपर्ने छ । ग्राहकलाई यातायातको असुविधा भएमा सःशुल्क सवारी व्यवस्था गर्नुपर्ने जारी आचारसंहितामा उल्लेख छ । प्रचलित कानुनअनुसार करार सम्झौताका आधारमा कामदारलाई नियुक्तिपत्र दिई पदअनुरूप पारिश्रमिक ९तलब भत्ता सुविधा० प्रत्येक महिना मसान्तभित्र उपलब्ध गराउनुपर्ने छ ।

डान्स रेस्टुरेन्ट एन्ड बार, लाइभ ब्यान्ड, लाउन्जबार, पपबार, डिस्को क्लबजस्ता व्यवसायमा १८ वर्षमुनिको बालबालिकालाई कामदार तथा ग्राहकका रूपमा प्रवेशमा निषेध गरिएको छ । सबैले मेनुमा निर्धारित मूल्य सूचीबाहेक थप बिलिङ र ओभर बिलिङ गरी ग्राहकलाई दुःख दिन पाइने छैन । कोभिड–१९ महामारी नियन्त्रण स्वास्थ्य मापदण्डलाई पूर्णपालना गर्नुपर्ने छ । सुरक्षा व्यवस्थापनका लागि प्रवेशद्वार र प्रत्येक टेबुलहरू प्रस्ट देखिने गरी सिसी क्यामेरा गरी त्यसको रेकर्ड कम्तीमा ३० दिनसम्म बस्ने व्यवस्था मिलाउनुपर्ने छ ।

कामदारको बोली व्यवहार सुधार र सरसफाइमा विशेष जोड दिएको छ । ध्वनि प्रदूषण रोक्न साउन्ड प्रुफ, बत्ती, आपत्कालीन ढोका र कामदारलाई नियमित प्रशिक्षणको व्यवस्था गर्नुपर्ने छ । ठमेल पर्यटन विकास परिषद् रात्रिकालीन व्यवसाय उपसमितिका महासचिव आयुष ठकुरीले गृह मन्त्रालयबाट जारी मापदण्ड तथा आचरसंहिता स्वागतयोग्य रहेको बताए । काठमाडौँं उपत्यकामा डिस्को क्लब १५, दोहोरी करिब ७०, डान्स १०५, लाइभ रेस्टुरेन्ट तथा पप र गजलबार २५ गरी करिब पाँच सय व्यवसाय छन् । त्यसमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० हजार श्रमिक संलग्न रहेको अनुमान छ ।