ताजा अपडेट »

स्थानीय तह स्वरोजगारमा बाधक, चालक मैत्री नीति बनाउन जोड

विहीबार, २६ फागुन २०७८

भैरहवा । ई–रिक्सा, टेम्पो चालकहरुले स्थानीय सरकार आफ्नो रोजगारीमा बाधक बनेको आरोप लगाएका छन् । स्वरोजगार हुन खरिद गरेको ई–रिक्सा र टेम्पो सञ्चालन गर्न नदिई सरकारले उनिहरुलाई अनागरिक भएको आभाष दिलाएको चालकहरुको भनाई छ । लुम्बिनी प्रदेशको श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुुटवलको समन्वयमा बिहिबार भैरहवामा सम्पन्न चालक सचेतना अभिवृद्धि कार्यक्रममा चालकहरुले सरकार प्रति आकोक्रश व्यक्त गरे ।

कार्यक्रममा थ्रि व्हिलर टेम्पो यातायात प्रा.लि.का सचिव बाघ बहादुर बुढाले बुटवल उपमहानगरपालिका कमिशनको चक्करमा लागेर ई–रिक्सा एवम् टेम्पोको व्यवस्थापन गर्न नसकेको आरोप लगाए । “मेयर साबले एउटा पनि रिक्सा, टेम्पो चल्न दिन्न भन्नुहुन्थ्यो, अहिले आएर राप्ती, भेरी, कर्णाली जताको पनि रिक्सा चल्न हुने हामीले लुम्बिनीमा दर्ता गरेको टेम्पो चल्न नहुने ?” बुढाले भने “हामी बाङ्गलादेशका बासिन्दा हौ कि अन्य तेश्रो मुलुकका ?”

चालकहरुको गुनासो यत्तिमै सिमित रहेन । मञ्चमा श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्री पूरमति ढेंगा मगर, सचिव दिपकराज नेपाल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसपी रविन्द्र रेग्मी, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी मोहन बहादुर खाँणकै अगाडी प्रहरी र स्थानीय तह मिलेर चालकहरुलाई दुःख दिई रहेको गुनासो गरे ।

साविकमा लुम्बिनी अञ्चलमै गाडी गुडाउने गरेका चालकहरुलाई अहिले प्रदेश संरचना गठन पछि २ जिल्लामै सिमित गरिएको उनीहरुको गुनासो थियो । यातायात कार्यालय रातीमा बन्द हुँदा रुट परमिटकै कारण ट्राफिक प्रहरीले सास्ती दिने गरेको उनीहरुको आरोप थियो ।
कार्यक्रममा सम्बोधन गर्दै श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पूरमति ढेंगा मगरले चालकहरुको समस्या समाधानको लागि पहल गर्ने बताईन । उनले ट्राफिक प्रहरीहरुलाई निर्देशन दिँदै कानून सम्मत नरहेको सवारीहरुलाई कार्यवाहीको दायरामा ल्याउने बताईन ।

मन्त्रालयका सचिव दिपकराज नेपालले अहिले मन्त्रालय यस सँग सम्बन्धित नीति तथा कार्यक्रमहरु एवम् आवश्यक ऐन निर्माण गर्ने क्रम रहेकोले चालकहरुको समस्या समाधान हुने गरि सम्बोधन गर्ने बताए । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी मोहन बहादुर खाँणले अत्याधिक सवारी दुर्घटनाहरु चालककै लापारवाहीले हुने गरेको कारण प्रदेश ट्राफिक कार्यालयले दुर्घटना न्यूनिकरणको चालकलाई सचेतनामा पुर्नताजगी गराई रहेको बताए ।