ताजा अपडेट »

सुरुङमार्ग अध्ययन गर्न ५९ कारोड, ५ महिनासम्म शुन्य काम

शनिबार, २३ कार्तिक २०७६

कार्तिक २३,
काठमाडौँ । सरकारले सुरुङ मार्ग निर्माणको प्रारम्भिक अध्ययन गर्न ५९ करोड बजेट विनियोजन गरेको ५ महिना बिते पनि काम भने केही पनि हुन सकेको छैन। मुलुकका आधा दर्जनभन्दा बढी जोखिमयुक्त तथा लामो सडक खण्डमा सुरुङ निर्माण अध्ययनका लागि सरकारले यसपछि यति धेरै बजेट विनियोजन गरेको हो। यस वर्षको बजेटमा सिद्धार्थ राजमार्गको सिद्धबाबा, टोखा- छहरे-गजे भन्ज्याङ, खुर्कोट-चियाबारी, बीपीनगर-खुटिया-दिपायल खण्ड, थानकोट- चित्लाङ खण्ड र लामा बगर(-उत्तरी सीमा सडकमा सुरुङ निर्माणको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण अगाडि बढाउने उल्लेख छ। यसबाहेक केही थप स्थानको सुरुङमार्ग निर्माणको प्रारम्भिक अध्ययन गर्ने भनी ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। 

उक्त बजेटले प्रारम्भिक अध्ययन गर्ने भनिए पनि यससम्बन्धी कामहरू भने हुन सकेको छैन। ‘नयाँ प्रविधीमा जाँदा ढिलो हुन स्वाभाविक हो,’ सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले भने, ‘गरिरहेको काम भए चाँडै सुरु हुन्थ्यो, नयाँ भएकाले ढिला हुन गएको हो। उनका अनुसार अहिले सबैतिरको प्रारम्भिक अध्ययन गर्ने तयारी भइरहेको छ । ‘यो पैसाले सुरुङ निर्माण गर्ने हैन । त्यसका लागि एक छेउ पनि पुग्दैन,’ उनले भने, ‘प्रारम्भिक अध्ययन सकियो भने पनि उपलब्धि हुनेछ। उनका अनुसार बुटवल(पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङ निर्माणका लागि ‘डिटेल इन्जिनियरिङ’ प्रतिवेदन तयार भइसकेको छ। स्विस सरकारको सहयोगमा रिपोर्ट तयार पारी विभागमा बुझाइसकिएको छ। यो खण्डमा सुरुङ निर्माणको थप अध्ययनका लागि सरकारले सबैभन्दा बढी अर्थात् ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।