कार्तिक २२,
ग्लोबल आवाज
काठमाडौँ । काठमाडौं जिल्ला अदालतले व्यापारिक घराना ज्योति ग्रुपका उपाध्यक्ष तथा शाहीकालका पूर्वअर्थ राज्यमन्त्री रूप ज्योती र उनकी छोरी सुरुचीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ। हिजो बिहीबारबाट लागू हुने गरी ज्योतीद्वयलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए। बिहीबार पक्राउ परेको ज्योतीद्वयलाई शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।
पौने ३ करोड रुपैयाँ बराबरको ठगी आरोपमा पक्राउ परेका रूप ज्योती र उनीकी छोरी सुरुचीमाथि अनुसन्धान गर्नका लागि प्रहरीले समय मागेको थियो।सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन पाएलगत्तै महानगरी प्रहरी परिसरले ज्योती र उनकी छोरीलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। ज्योतीको हाउजिङ कम्पनी ल्यान्डमार्क डेभलपर्स प्रालिमार्फत् धेरैजनालाई ठगी गरेको भन्दै ज्योतीविरुद्ध मुद्दा परेपछि काठमाडौं जिल्ला अदालतले गत वर्ष मंसिर २० गते उनलाई पक्राउ गर्न आदेश दिएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध चार दिनपछि मंसिर २४ गते ज्योतीले सर्वोच्च अदालत गुहारेका थिए। त्यसबेला सर्वोच्चबाट अन्तरिम आदेश पाएका ज्योतीको विपक्षमा अहिले सर्वोच्चले फैसला गरेपछि उनी पक्राउ परेका हुन्। सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले ज्योतीको निषेधाज्ञासम्बन्धी रिट खारेज गरेलगत्तै उनी र उनकी छोरी सुरुची पक्राउ परेका हुन्। ज्योतीको हाउजिङ कम्पनी ल्यान्डमार्क डेभलपर्स छोरी सुरुचीको नाममा रहेका कारण ठगीमा उनको पनि संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो।- नेपालन्यूज
प्रतिक्रिया