ताजा अपडेट »

रातदिन खट्ने स्वयंसेविकाले सुबिधा नपाएको गुनासो

शुक्रबार, २२ कार्तिक २०७६

कार्तिक २२,
बिन्दु भट्टराई / ग्लोबल आवाज

तिलोत्तमा । आधारभूत तहका स्वास्थ्य जानकारी समाजमा फैलाउने काममा खट्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुका सुविधा खासै ठूला हुँदैनन् । अरुको उपचारमा खटिने, तर आफ्नै औषधोपचारको लागि आफैले रकम खर्च गर्नुपर्ने पीडाबाट उनीहरु गुज्रिएका छन् । बिना सुविधा काममा खटिंदा आफूहरुको निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । रुपन्देहीको तिलोत्तमा ८ मणिग्रामकी राधिका पाण्डेले स्वयंसेविकाको रुपमा काम गर्न थालेको २४ वर्ष भयो । २०५२ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रहेकी उनले सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गरिदिए आफूजस्ता थुप्रै स्वयंसेविकालाई राहत मिल्ने बताउँछिन् । “अरुको उपचारमा खटिंनुपर्दाको पीडा त एकातर्फ छँदैछ, त्यसमा आफूलाई सामान्य चोटपटक लागे मलहम पनि किनेर लगाउनुपर्ने बाध्यता छ, यस्ता समस्या राज्यले बुझिदिनुपर्छ”–उनी भन्छिन् । आफू जस्तै स्वयंसेविकाको काम गर्ने महिला केही महिना अगाडि उपचारको अभावले क्यान्सरबाट ज्यान गुमाएको उनले स्मरण गरिन् । “यस्ता थुप्रै महिला स्वयंसेविकाहरु समस्यामा छन्”-राधा भन्छिन् ।

तिलोत्तमा नगरपालिकामा अहिले १७६ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । “मान्छेलाई दुःख बिमारले पिरोलिरहन्छ । हामीले दिनरात नभनी काम गरेका छौं । तर, सुविधा छैन”–अर्की स्वयंसेविका गोमती पराजुलीको दुःखेसो छ । निःशुल्क औषधि उपचारको व्यवस्था नहुँदा राधा जस्ता थुप्रै स्वयंसेविकाहरु उदास देखिन्छन् । “खोप लगाउनेदेखि अन्य साना ठूला स्वास्थ्य समस्यामा स्थानीयले सम्झन्छन् । शहरमा बसेपछि सुविधा भएन भनेर काम नगरी बस्न पनि भएन”–गोमती भन्छिन् । घर-घरमा गएर गर्भवती महिला पहिचान, सुत्केरी भेट गरी उनीहरुलाई स्वास्थ्यचौकीसम्म पुर्याउने जिम्मेवारीसमेत अहिले उनीहरुले पाएका छन् ।

त्यतिमात्र होईन ६ महिनादेखि २ वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउने अभियानका लागि पनि उनीहरु टोलटोलमा पुग्ने गर्छन् । दिनभरी काम गरेबापत दिनको ५० रुपैयाँ खाजाको व्यवस्थाबाट सुरु हुँदै सय, दुई सय र करिब दुई तीनवर्ष यता एक दिनको ४०० रुपैयाँ पाउने गरेको स्वास्थ्य स्वयेंविकाको भनाइ छ । तिलोत्तमा नगरपालिकाका स्वास्थ्य सहसंयोजक इश्वरी पौडेलले स्वयंसेवीकाले स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको, तर त्यस अनुरुप सुविधा भने दिन नसकिएको स्वीकार गरे । “नगरपालिकाले उनीहरुलाई के कस्तो सुविधा कसरी उपलव्ध गराउन सक्छ, यो छलफलको विषय बन्नुपर्छ र स्वयंसेविकाको कामलाई उचित मूल्यांकन गरिनुपर्छ”–उनको भनाइ छ । उनले महिला स्वास्थ्यस्वयमसेवीकाहरुको योगदानप्रति राज्यको ध्यान जानुपर्नेमा जोड दिए ।