बुटवल । कपिलबस्तु गोरुसिंगेकी बनकुमारी बेल्बासे बिरामी परिन् । मधुमेहका रोगी आमालाई उपचार गराउन लुम्बिनी प्रादेशिक अस्पताल धाएकी छोरी निर्मला पौडेल टिकट काट्नेदेखि विभिन्न परीक्षणका बिल काट्दा दिक्क भईन । उपचारका लागि लाईनमा बस्दा बस्दा बिरामीसंगै कुरुवा पनि बिरामी पर्ने हो की भन्ने अवस्था आएको उनी बताउँछन् । पहिलो दिन टिकट लिने र चिकित्सकलाई भेट्ने काम सकिएपछि थप परिक्षणका लागि लाइनमा बस्दा नै समय सकिने उनी बताउँछन । कम्तीमा ३ देखि ५ दिनमा बल्ल पूरा उपचार पाउने अवस्था अस्पतालमा रहेको उनी बताउँछन ।
बिहिबार आमालाई लिएर अस्पताल आएका संगम केसी पहिलो दिन चिकित्सकलाई भेटे । बिरामीको समस्या बताउने र परीक्षणका लागि रगत दिने काम भयो । रिर्पोटको काम भोलीपल्टलाई रोकियो । शुक्रबार बिहानै १० बजे आएका उनले ४ बजेसम्म रिर्पोटहरु हातमा लाग्यो । प्राप्त रिपोर्ट देखाउन चिकित्सकहरु भेटिएनन् । भोलीपल्ट शनिबार बिदा पर्यो । आईतबार अस्पताल आएका उनी उपचार कक्षमा चिकित्सकको कुराईमा परे । साढे ११ बजेसम्म पनि चिकित्सक नभेटिँदा उनि सारै दुःखी छन । अस्पतालमा प्रचार गरिएभन्दा सेवाग्राहीलाई धेरै सास्ती रहेको उनी बताउछन् ।
चिकित्सकहरु आफनो उत्तरदायित्व बहन नगरेको उनको गुनासो छ । ‘अस्पतालमा को कति खेर आउछ ?, कति खेर जान्छ भन्ने कुनै सिष्टम नै छैन ।’– उनले भने । पटकपटक आमाको उपचारमा आएका उनी अस्पताल ब्यवस्थापनको अस्तब्यस्तता देखेर दिक्क छन् । खाना खाने समयमा चिकित्सकहरु नीजि क्लिनिकमा भेटिने गरेका छन् । अफिस टाईम भनेर १० देखि ४ बजेसम्म अनिवार्य सेवा दिनुपर्ने भएपनि अस्पतालमा ईएचएस सेवाका चिकित्सकबाहेक अन्य चिकित्सकहरु नभेटिने अधिकाँस सेवाग्राहीको गुनासो छ ।
अर्घाखाची खनदहका निमानन्द पोखरेलले भने पहिलेभन्दा अस्पतालको सेवा सुधार भएको बताउँछन । बिरामीहरुलाई बस्ने स्थान, ट्वाईलेट, खानेपानी लगायत पुर्वाधार विकास भएपनि ल्याबको सेवा बिस्तार र चिकित्सकले तोकिएको समयावधी नदिएको गुनासो उनको छ । अस्पतालमा आकस्मिक र साधारण गरि केवल दुई वटा मात्र ल्याबबाट सेवाग्राहीलाई धेरै समय कुर्नुपर्ने बाध्यता भएको उनी बताउछन् । गत आर्थिक वर्षमा ख–वर्गकामध्ये न्यूनतम शर्त मापनमा प्रथम स्थान हासिल गरेको यो अस्पतालमा अझै पनि धेरै बिरामी विशेषज्ञ चिकित्सक भेट्न र छिटोछरितो ल्याब रिपोर्ट पाउन नसकेको गुनासो गर्छन् ।
निक्कै तामझाम गरेर २४ घण्टा चिकित्सक सहितको आकस्मिक कक्षको प्रचार गरिएजस्तो सेवा पाउन नसकेको धेरै सेवाग्राहीको गुनासो छ । आकस्मिक कक्ष प्यारामेडिक्सको भरमा संचालन भैरहेको छन । अस्पताल प्रशासनले आकस्मिक रुपमा आउने बिरामीका लागि विशेषज्ञसहितको २५ शैयाको आकस्मिक उपचार कक्ष रहेको दाबी गर्दै आएको छ । अस्पतालमा सोर्सफोसका आधारमा सेवा पाउने गरेको धेरै सेवाग्राहीको गुनासो छ । २ सय ५० शैयाको प्रसूति कक्षबाहेक अन्य वार्डमा बेड संख्या भनिएभन्दा कम छ ।
५० शैयाको मेडिकल वार्ड प्रचार गरिएपनि हाल १८ सैया संचालनमा छ । ४९ सुविधासम्पन्न क्याबिन भएपनि यो मापदण्ड बिपरित सँघुरो र सुविधामैत्री छैन । अस्पतालमा सबैभन्दा बढी प्रसूति, बालरोग र रेडियोलोजी विभागमा भिड हुने गरेका छन । दातको एक्सरेको सेवा नाममात्रको छ । अस्पतालका चिकित्सक, कर्मचारीहरु आफनो नीजि क्लिनिकमा सेवाग्राहीलाई पठाउने होड चलेको छ । जसका लागि विभिन्न प्रपन्च रचिन्छ । यसैगरी अस्पताल भित्र रहेको औषधि पसलमा समेत सामान्य औषधिहरु पनि प्राप्त गर्न गाह्रो हुने गरेको सेवाग्रहीको गुनासो छ । अस्पताल फार्मेसिमा आवश्यक पर्ने ४० प्रतिशत औषधि पनि मुस्किलले पाउन सकिने एक सेवाग्राहीले उल्लेख गरे ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरीटेन्ट डा इन्द्र ढकाल भने जनतालाई सर्वसुलभ, गुणस्तरीय र परिस्कृत सेवा दिन तत्पर रहेको दाबी गर्छन । ६ बेडबाट ४० बेड आईसियू बिस्तार गरेको उनले बताए । आकस्मिक कक्ष, ट्रमा सेन्टर, डाईलासिसका बेड थप्ने, कोभिड उपचार, अक्सिजन प्लान्ट बिस्तार लगायतको काम पूरा गरेको बताउछन । सेवाग्राहीलाई सम्पूर्ण खालका सेवा दिने रुपमा आफूहरु अगाडी बढेको उनको दाबी छ ।
नेपाल सरकारबाट जनशक्तिको हिसाबले ४ सय बेडको स्वीकृति भएपनि अस्पतालमा बिरामीको चापको हिसाबले हाल ७ सय बेडको सेवा दिईरहेको उनले बताए । यसमा चुनौती रहेको भन्दै उनले शुरु गरेका कार्यक्रम दिर्घकालिन र दिगोपन रुपमा अघि बढाउन सरकारबाट आवश्यक जनशक्ति थप्नुपर्ने बताए । प्रदेश सरकारले विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न भन्दै प्रदेश गौरवको आयोजना अन्तर्गत अस्पतालको प्रारम्भिक गुरुयोजना निर्माण गरेको छ । अस्पतालमा हाल ७ सय कर्मचारीहरु छन् । हरेक विभागमा कार्यालय सहयोगीहरुको नाममा भर्ना गर्ने होड नै छ ।
सिटि स्क्यान सेवा एक महिनादेखि बन्द
अस्पतालले बिरामीलाई सर्वशुलभ मुल्यमा सेवा दिने गरि धुमधामसहित प्रचार गरेर संचालनमा ल्याएको सिटि स्क्यान मेशिन नचलेको एक महिना भएको छ । दुर्घटनाका धेरै विरामी आउने अस्पतालमा चौबीसै घण्टा सिटी स्क्यान सेवाको प्रचारमात्र छ । अहिले दैनिक ५० जना सेवाग्राही बाहिर नीजिमा सेवा लिन जानुपरेको बाध्यता छ । सामान्य बिरामीले अस्पतालको तुलनामा नीजिमा ३० प्रतिशतभन्दा बढी रकम तिर्नुपरेको छ । स्वस्थ्य बिमा गरेको बिरामीले पाउने निशूल्क सेवाको अधिकारबाट बन्चित भएका छन् ।
संघिय सरकारको सहयोगमा एक वर्षअघिमात्र यो सेवा शुरु भएको हो । कहिले युपिएसको खराबी, कहिले अर्थिङको खराबीको बहानामा महङो मूल्यमा ल्याईएको मेशिन उपयोग बिहिन भएको छ । यसले सेवाग्राहीलाई नीजिमा महङो शुल्क तिरेर सेवा लिनुपरेको छ । अस्पतालमा कर्मचारी नियुक्ति राजनीतिक आधारमा गरिने परिपार्टी एउटा अर्को महत्वपूर्ण समस्या देखिएको छ । दक्ष जनशक्तिको अभावका कारण अस्पतालको सेवामा समस्या उत्पन्न भएको धेरैको गुनासो छ । -बुटवल टुडे दैनिक
प्रतिक्रिया