मानव विकासक्रमतर्फ दृष्टि घुमाउने हो भने, मानव सभ्यताले ढुङ्गे युगदेखि आणविक युगसम्मको युगान्तरको लामो यात्रा तय गरेको छ । यो क्रमिक अवधिमा धेरै प्राचीन सभ्यताहरू जन्मिए, पृथ्वीको कुना–कुनामा फैलिए । परिवर्तनशिल समयको परिवर्तनशिल मागले गर्दा कतिपय सभ्यता परिवर्तनमा पनि समयानुकूल भई रहिरहन सके त कतिपय कालको कालान्तर प्रवाहमा बगेर गय । चार्ल्स डारविनका अनुसार यो क्रमिक मानिस आदिमानवबाट अतिमानवतर्फ दौडिएको परिवर्तनकारी युग हो ।
यी क्रमिक रुपमा विकास भएको सभ्यता मध्य हामी पूर्विदर्शनको प्राचीन सभ्यतालाई निहाली हेर्ने हो भने, यसलाई संसारको सबैभन्दा पुरानो र व्यवस्थित सभ्यताको रूपमा परिभाषित गरिन्छ, जुन उच्च गुणस्तरको पारिवारिक र सामाजिक व्यवस्थाका लागि परिचित छ । परिवार विश्व समाजको सबैभन्दा सानो एकाइ हो जहाँ समृद्ध राष्ट्रका सबै कारण र कारकहरू उपस्थित हुन्छन् । जसको गुणस्तर व्यवस्थापन र सञ्चालनमा महिला र पुरुषको समान सहभागिता र समान महत्व छ ।
आजको आधुनिक वैज्ञानिक युगमा कृषिदेखि अन्तरिक्षसम्मका धेरै क्षेत्रमा महिलाले फड्को मारिसकेको, पुरुषसँग बराबरी गरेको भए पनि आज पनि अधिकांश महिला आफ्नो मौलिक अधिकारबाट वञ्चित हुन बाध्य छन् । जीवनको कुनै न कुनै एक अवस्थामा हरेक महिला महिला हिंशाको शिकार हुन्छिन । महिला सशक्तिकरणका लागि जतिसुकै प्रयास भइरहे पनि महिलाको आफ्नो अस्तित्वको लागि सङ्घर्ष आफ्नै घरमा, आमाको गर्भबाट नै सुरु हुन्छ । भ्रुणहत्या, लैङ्गिक विभेद, घरेलु हिंसा, दाइजो, लैङ्गिक दुव्र्यवहार, यौन दुव्र्यवहार, शोषण, जबरजस्ती करणी, उत्पीडन, मानसिक यातना जस्ता धेरै समस्याको चपेटमा वर्तमान समयका शिक्षित र सशक्त महिला पनि परेका छन् ।
प्रकृतिले पुरुष र नारीको समन्वय गरेर सृष्टिको निरन्तरता कायम गरेको छ । पुरुष र महिलामा शारीरिक र प्राकृतिक भिन्नताहरू छन् त्यो नितान्त सत्य हो तर उनिहरुको अस्तित्वमा भने समानता हुनु पर्छ । एकपटक धर्मशास्त्र पल्ट्याई हेर्ने हो भने सृष्टिका अधिपति मानिने भगवान शिवको रूप अर्धनारेश्वर हो, जसको अर्थ यो श्रृष्टि निर्माण र सञ्चालनमा शिब र शक्ति दुबैको समान भूमिका रहेको हुन्छ । अर्थात यसले प्राचीन धर्मशास्त्रमा पनि समाजमा महिला पुरुषको समान आस्तित्वलाई दर्शाउँछ । शास्त्रले एउटालाइ कठोर र अर्को कोमल, एउटा स्वभावले अहंकारी र पराक्रमी त स्त्री त्याग र करुणारूपी देखायता पनि, इतिहासका अनुसार वैदिक कालमा महिलाको सामाजिक स्थिति समृद्ध थियो । नारी शिक्षा, शास्त्रको अध्ययन, यज्ञमा पुरुषको समान सहभागिता, स्वेच्छाले विवाह आदि धेरै उदाहरण छन् जसले यो तर्क प्रमाणित गर्छ । प्राचीन कालमा नारी लाई उच्च सम्मानले दुर्गा, लक्ष्मी, सरस्वती देबीको संज्ञा दिईएको छ । हुन त हाल पनि त्यो संज्ञा कायम नै छ तर बाहिर समाजमा देबीको संज्ञा पाएको मुर्तिलाई पूजिन्छ तर घरमा तिनैलाई शोषण गरिन्छ अर्थात महिलाको अस्तित्व त पूजिन्छ तर अर्को तर्फ उनै माथि शोषण हुन्छ ।
वेदोत्तर कालमा विभिन्न जातजातिहरू बीचको द्वन्द्वको स्थितिमा महिलाहरूले धेरै दुःख पाएका थिए । मध्ययुगमा विदेशी अतिक्रमण, आक्रमण र बेलायति बिस्तारवादको समयले त महिलालाई झनै भोगको पात्रका रूपमा स्थापित गर्यो । तेहि भोग प्राप्तिको लागि ठूला–ठूला युद्ध लडियो र भयङ्कर रक्तपात भयो । जसको परिणाम स्वरूप, नारी स्वतन्त्रता ओझेलमा पर्यो, नारीलाई यसबाट जोगाउन घुम्टो प्रथा, बालविवाह, सती प्रथा जस्ता कुप्रथाको जन्म भयो । जुन पछि रोकियो, यद्दपि पूर्ण लैंगिक समानता भने हालसम्म कायम भएको छैन ।
त्यसपछि क्रमशः अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका धेरै महिला संगठन, विचारक र आन्दोलनहरूले महिला स्वतन्त्रता, आर्थिक बल, प्रतिष्ठा र न्याय आदिका लागि प्रयास गरे । जसको परिणाम स्वरूप प्रथम पटक महिलाहरुलाई मतदानको हक प्रदान गर्नको लागि सन् १९१० मा सोशलिस्ट इंटरनेशनलको कोपहेगन सम्मेलन भयो । त्यसपछि, सन् १९१७ मा रूसी महिलाहरूले महिला दिवसमा रोटी र लुगाको लागि हडताल गर्ने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो किनकि यसको परिणाम स्वरूप जारले सत्ता छाडे । अन्तरिम सरकारले महिलाहरूलाई मतदानको अधिकार दियो । यही कारणले गर्दा ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइयो र आज पनि मनाइँदैछ । क्रमिक रुपमा अधिकारका नयाँ–नया माग, महिला अधिकार सुदृढ र सशक्त हुँदै गएपनि, व्यवस्थामा अनेक सुधार भए पनि अवस्था अझै पनि सन्तोषजनक छैन ।
गतवर्ष बीबीसीले सार्वजनिक गरेको एउटा तथ्याङ्कमा नेपालमा ५ वर्ष भित्र आठ हजार भन्दा बढी जबरजस्ती करणी र झन्डै ६० हजार बढी महिला हिंसाका उजूरी दर्ता भएको भेटियो । यो मात्र सार्वजनिक डाटा हो यसका अतिरिक्त कति केस त समाजमा परिवारको बेइज्जत हुने डरले भित्र भित्रै दबाइन्छ । भित्र भित्रै सहन्छन । बर्तमान समयलाइ हेर्ने हो भने, प्रतिदिन कुल जनसंख्या मध्य औषतमा ६ जाना जबरजस्ती करणिको शिकारमा पर्छन । प्रत्येक महिला जिबनको कुनै न कुनै क्षणमा हिंसाको शिकार बनेकै हुन्छिन् । पछिल्लो केही महिनालाई नै हेर्ने हो भने कति महिलाहरुको रहस्यमय हत्या, मानसिक यातना, दाइजो सम्बन्धमा भित्री मधेसमा घटेका अनेक घटना, कूटपिट अनेक कुराले महिला हिंसित हुन्छिन् । सामाजिक संरचना र महिला हिंसा र दुर्व्यवहारसम्बन्धी घटनामा देखिएको दण्डहीनताका कारण नेपालमा पीडकबारे खुलेर बोल्ने अवस्था नभएको कतिपय अधिकारकर्मीले बताउछन् । त्यहाँ लाखौं घटनाहरू छन् जसमा महिलाहरू डर वा स्थानीय मान प्रतिस्ठाका कारण अपराध गर्दा चुपचाप बस्छन ।
महिलालाई सशक्तिकरण गर्न नेपाल अधिराज्यको संविधान २०७२ को भाग ३ को धारा ३८ मा ‘महिलाहरूको मौलिक हक कर्तव्य’ बारे निम्न हक सुनिश्चित गरेको छः–
–प्रत्येक महिलालाइ लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ ।
–प्रत्येक महिलालाइ सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्वन्धी हक हुनेछ ।
–महिला विरुद्घ धार्मिक सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य , मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसा जन्यकार्य वा शोषण गरिने छैन, यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडित लाइ कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।
–राज्यका सवै निकायमा महिलालाइ समानुपातिक समावेशी सिद्घान्तको आधारमा सहभागी हुने हक हुने छ ।
–महिलालाइ शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा अवसर प्राप्त गर्ने हक हुनेछ ।
–सम्पित्त तथा पारिवारिक मामिलामा दम्पत्तीको समान हक हुने छ ।
र पनि सुनिश्चित हक अधिकारहरु पुस्तकमा मात्र सुसज्जित देखिन्छ । शिक्षा र राजनीतिक चेतनाको विकासले सहरी क्षेत्रका महिलामा महिला अधिकारको बारेमा बिम्ब बने पनि ग्रामीण क्षेत्रका महिलालाई भने आफ्नै अधिकार बारे कुनै जानकारी छैन ।
महिला सशक्तिकरण र महिलाको अवस्था सुधारको निमित्त सर्वप्रथम त सम्बन्धित सम्पूर्ण महिलाहरुलाई उहिहरुको अधिकार के भन्ने कुराको जानकारी दिनु पर्दछ । हरेक तह र तप्काबाट ति अधिकार संरक्षणका प्रयासको लागि आवाज उठाउनु र ति आवाजलाई मूर्त रूपदिनु पर्दछ । दिगो र सुदृढ भोलिको लागि आजदेखी नै लैंगिक समानता कायम गर्नुपर्छ । आफूप्रतिको द्रुव्यवहार र हिंशाजन्य क्रियाकलाप बिरुद्ध उजूरी गर्नुपर्छ, आवाज उठाउनु पर्छ । महिलालाई हरेक क्षेत्रमा सुरक्षा र समान अवसर प्रदान गर्नु पर्छ ।
महिलाको सर्वाङ्गीण विकासको लागि उचित निति निर्माण र कार्यान्वयन गर्नु पर्दछ । महिलालाई उनको योग्यता र क्षमता अनुरूपको उचित अवसरको शृजना गर्नु पर्दछ । महिलाको सम्मान गर्नु पर्छ र पिछडीएका महिला वर्गको उत्थान गर्नु पर्दछ । महिलाहरुमा राजनीतिक चेतना र परिवर्तनशील समाज बारे चेतना र ज्ञान हुनुपर्छ । तब मात्र नारीको अस्तित्वका जरा बलिया हुन्छन र नयाँ युगको प्रतिस्पर्धामा आफ्नो अस्तित्व उठाउन सकिन्छ ।
‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः।’
‘नारी अस्य समाजस्य कुशलवास्तुकारा अस्ति ।’
११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सम्पूर्णमा शुभकामना
प्रतिक्रिया