ताजा अपडेट »

११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस : विविध कार्यक्रम गरि मनाइँदै

मंगलबार, २४ फागुन २०७८

काठमाडौ । आज ८ मार्च अर्थात् ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस। महिला समानता र जागरूकताका लागि आज विश्वभर यो दिवस मनाइन्छ । 
    
महिला अधिकार, महिला सशक्तिकरण र समानताका विषयहरु अहिले विश्वभर नै यस दिवसका विषय बन्ने गरेका छन् । यो दिवस मनाउन थालिएको शताब्दि पुगेको छ तर अहिले पनि विश्वभर नै महिलाले समानता र आफ्ना अधिकारका लागि आवाज उठाइरहनु परेको छ । महिलामाथि हुने विभिन्न प्रकारका हिंसा, असमानपूर्ण व्यवहार अहिले पनि पूर्ण रुपमा रोकिएको छैन । अहिले पनि विश्वका अधिकांश भूभागका महिलाहरुले अधिकारकै लागि आवाज उठाइरहनु परेको छ । त्यसैले आज पनि संसारभरका महिलाहरु आफ्नो अधिकारका लागि आवाज उठाएका छन् । नेपालमा पनि महिलाका यस्तै आवाजहरुलाई बुलन्द पार्न दिवस मनाउने गरिएको छ।

समयको परिर्वतनसँगै महिला सशक्त हुँदै गएका त छन् तर उनीहरुमाथि हुने हिंसा भने रोकिएको छैन । पछिल्लो समयमा विद्युतीय अपराध बढ्दै गएको छ । त्यसको मारमा महिला धेरै पर्ने गरेका छन् । पारिवारिक रिसका कारण बलात्कारपछि हत्या गर्ने र प्रेममा बेमेल भए वा आफूले भनेजस्तो नभए एसिड आक्रमण गर्ने जस्ता जघन्य अपराधका घटनामा अझै कमी आउन सकेको छैन । तर त्यसका विरुद्ध लड्ने बल भने बढ्दै गएको छ । महिलामाथि हुने यस्ता जघन्य प्रकृतिका अपराधमा संलग्नको कारबाहीका लागि नागरिक समाज एवं राष्ट्रिय सञ्चार माध्यमहरुले पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराई कारबाहीका लाग दबाब दिने गरेका छन् । त्यसको एउटा सफल उदाहरणका रुपमा मुस्कान खातुनमाथिको आक्रमणलाई पनि लिन सकिन्छ ।

तीन वर्षअघि १५ वर्षकी हुँदा प्रेमप्रस्ताव अस्वीकार गरेकै कारण खातुनले तेजाब हमलाको सिकार हुनुपरेको थियो । तर खातुनले त्यसका विरुद्ध आवाज उठाइन् । कानून नै बनाएर कडा कारबाही गर्नुपर्छ भनेर अभियान नै चलाइन्। यस्ता आक्रमणकारीलाई कडाभन्दा कडा कानून बनाउन आग्रह गरेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कानून बनाउन निर्देशन दिए र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा अध्यायादेशमार्फत् कानून बन्यो । खातुनले एसिड आक्रमणमा परेका महिलाको हक अधिकार र संरक्षणका लागि अभियान्ताकै रुपमा सक्रिय भएर काम गरिन् । त्यही सफलताका कारण खातुनले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कारबाट पनि पुरस्कृत हुने भएकी हुन् । नेपालले पहिलो पटक यो साहसी पुरस्कार प्राप्त गरेको हो । 

नेपालको संविधानको मौलिक हक अन्तर्गत महिलाको हकको व्यवस्था गरिएको छ। “प्रत्येक महिलालाई लैंगिक भेदभाव बिना समान वंशीय हक हुनेछ, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ” भनी संविधानको मौलिक हकमै व्यवस्था गरिएको छ। 

साथै, महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ भनेर पनि संविधाले व्यवस्था गरेको छ। उक्त हकमा कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य कार्य वा शोषण गरिने छैन। त्यस्तो कार्य कानूनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनी व्यवस्था गरेको छ। तर भएका कानूनको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा महिलाले अहिले पनि आफ्नो अधिकार, समानता र अन्यायका लागि आवाज उठाउनु पर्ने बाध्यता छ।

राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता जस्ता विषयहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषय हुने गरेका छन् । यो दिवस सर्वप्रथम सन् १९०९ फेब्रुवरी २८ मा मनाइएको थियो । सन् १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०२२ मा आइपुग्दा विश्वभर ११२औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ। यो दिसव मार्च महिनाभर नै मनाउने गरिएको छ।

संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सोसलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला श्रमिकको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो । सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनमा सम्पन्न सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो । त्यस समय यसको प्रमुख ध्येय महिलालाई मताअधिकार दिनु थियो । महिलालाई मत दिने अधिकार कतिपय देशमा थिएन । यसरी महिला समानता र सशक्तिकरणका लागि यो दिवस विश्वभर नै मनाउँदै आइरहेको छ । यसरी विश्वव्यापी मनाउन थालिएको यो दिवसका कारण महिलाको सशक्तिकरणका क्षेत्रमा केही टेवा पुर्याए पनि महिलाले अझै आफ्नो अधिकार, न्याय र समानताका लागि भने आवाज बुलन्द गर्नुपर्ने नै देखिन्छ।