काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रक्षा मन्त्रालयले चार अर्ब ६५ करोड माग गरेको छ। रक्षा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग चार अर्ब ६५ करोड माग गरेको जानकारी दिए।
निर्वाचनका लागि चालु खर्चतर्फ दुई अर्ब साढे ३४ करोड र पूँजीगतर्फ दुई अर्ब साढे तीस करोड गरेर चार अर्ब ६५ करोड रकम अर्थ मन्त्रालयसँग माग गरेको उनले बताए। यसका लागि शुक्रबार अर्थ मन्त्रालयमा पत्र पठाइसकेको उनले जानकारी दिए।
यता, स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि निर्वाचन आयोगलाई अर्थ मन्त्रालयबाट आठ अर्ब ११ बरोड बजेटको सुनिश्चितता प्राप्त भएको छ।
आयोगमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आयोगलाई अर्थ मन्त्रालयबाट आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको जानकारी दिएका थिए।
यद्यपि, आयोगले निर्वाचनको लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोड २९ लाख माग गरेको थियो।-गोरखापत्र
प्रतिक्रिया