ताजा अपडेट »

अनलाइनबाटै पेन्सनपट्टाको तयारी

सोमबार, २३ फागुन २०७८

काठमाडौँ। अवकाश पाएपछि निजामती कर्मचारीले पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गरिने भएको छ । किताबखानाले सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली कार्यान्वयन गर्न लागेकाले कर्मचारी अवकाश हुँदा किताबखानासम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको हो । राष्ट्रिय किताबखाना ९निजामती०का महानिर्देशक बाबुराज श्रेष्ठले ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि अहिले विज्ञसहितको टोलीले अध्ययन गरी प्रतिवेदन तयार गर्न लागेको जानकारी दिए ।

उहाँका अनुसार कर्मचारी अवकाश हुने छ महिना पूर्व नै सम्बन्धित कर्मचारीलाई अनलाइनका माध्यमबाट जानकारी दिने, कर्मचारीले जुनजुन विवरण पठाउनुपर्ने होस सो विवरण अनलाइनकै माध्यबाट पठाउने, मासिक, पेन्सन स्केल पनि अनलाइनबाटै जानकारी दिने र कर्मचारीको सम्बन्धित कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, निवृत्तभरण कार्यालय, पेन्सन लिने बैङ्कबारे अनलाइन माध्यमबाट जानकारी दिइनेछ ।

सबै तहका कर्मचारीको नियुक्तिपत्र, नागरिकता, शैक्षिक योग्यता, सरुवा, बढुवा, बिदा, जोडिएको सेवा अवधि, कर्मचारीले पाएको पुरस्कार र विभागीय कारबाहीलगायतका दस्तावेजलाई डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली लागू गर्न लागिएको हो । सबै कर्मचारीको व्यक्तिगत विवरणको अभिलेख डिजिटलाइजेसन भएपछि विस्तृत विवरण कम्युटरमा निश्चित कोड नम्बर हानेपछि प्राप्त गर्न सकिने बताउँदै उनले भने, “अबको एक वर्षमा ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याउने गरी काम अगाडि बढाइरहेको छौँ ।”

ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि अहिले पूर्वसचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले विज्ञका रूपमा काम गरिरहेका छन् । उनले कर्मचारीका सबै कागजात ई–फाइलिङ गर्न लागिएको बताउँदै आगामी दिनमा अवकाश हुने कर्मचारीको ई–फाइलिङ तयार हुँदै जाने जानकारी दिए ।

“विद्युतीय माध्यमबाट नै कागजात पठाउने कर्मचारीले किताबखाना, कोलेनिका र निवृत्तिभरण कार्यालय धाइरहनुपर्ने अवस्था हुँदैन,” उनले , “सबै कर्मचारीको अनलाइनमार्फत कागजात आएपछि कसैले भनसुन गर्नुपर्दैन । सबै कर्मचारीले न्याय पाउने छन् । खर्च पनि कम हुनेछ ।” अहिले निजामती सेवामा मात्र एक लाख कर्मचारीले पेन्सन लिने गरेको किताबखानाले जनाएको छ ।-नगेन्द्र सापकोटा/गोरखापत्र

विसं १९०५ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणको पालामा निजामती, प्रहरी, जङ्गी र मिलिसियाका कर्मचारीको लगत राख्ने मुख्य कार्यका लागि मुलुकी किताबखानाको नाममा किताबखाना कार्यालय स्थापना गरिएको थियो । सङ्घ, प्रदेश र स्थानीय तहका गरी अहिले एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेको छ ।