ताजा अपडेट »

लुम्बिनी प्रदेशका ३ मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण

सोमबार, २३ फागुन २०७८
1 Shares

बुटवल । लुम्बिनी प्रदेशमा कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन भएको ७ महिना पुग्न लाग्यो । साउन २८ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका केसीसँगै ४ बिना विभागीय र २ विभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । मुख्यमन्त्री केसीले पटक–पटक मन्त्रीपरिषद् विस्तार गरेर अहिले १७ सदस्यीय जम्बो मन्त्रीमण्डल निर्माण गरेका छन् ।

तर, मुख्यमन्त्री केसी नेतृत्वको सरकारका मन्त्रीहरुले भने सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक भएको छैन् । मुख्यमन्त्री कार्यालयले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नगरे पनि मन्त्री बनेको ६० भित्र मुख्यमन्त्री कार्यालयमा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने भए पनि ३ जना मन्त्रीहरुले सम्पत्ति विवरण नै बुझाएका छैन् । कृषि, खाद्य प्रविधी तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझी, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसीउद्दी खाँ र भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले सम्पत्ति विवरण नबुझाएको पाइएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेश गर्नुपर्ने उल्लेख छ ।

यस्तै लुम्बिनी प्रदेश सरकारले बनाएको आचार संहिता अनुसार पनि मुख्यमन्त्रीसहित मन्त्रीहरुले ६० दिन भित्रमा आफू र आफ्नो परिवारको सम्पत्ती विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था रहेको छ । साथै पदमुक्त भए पछि पनि सम्पत्ती विवरण सार्वजनिक गर्नु पर्ने ‘लुम्बिनी प्रदेश सकारका मन्त्रीहरुको आचार संहिता–२०७८’ मा व्यवस्था रहेको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार समयसीमा भित्र ९ जना मन्त्रीहरुले मात्रै कार्यालयमा सम्पत्ति विवरण बुझाएको बताए । शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसीउद्दी खाँले मन्त्री हुनु भन्दा केही समय अघि प्रदेशसभामा सम्पत्ति विवरण बुझाएको र मन्त्री भएपछि फेरि बुझाउनु पर्ने कुरा थाहा नभएका कारण सम्पत्ती विवरण नबुझाएको बताए ।

‘म मन्त्री हुनु भन्दा केही सयम अघि सम्पत्ति विवरण बुझाएको थियो । मन्त्री भएपछि मुख्यमन्त्री कार्यालयमा फेरि सम्पत्ति विवरण बुझाउनु पर्ने रहेछ । अब म आज वा भोलि नै सम्पत्ति विवरण बुझाउन्छु । ’–उनले भने । यसबारेमा बुझ्न कृषि, खाद्य प्रविधी तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझी र भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवसँग सम्पर्क गर्दा फोन उठेन ।

लुम्बिनी प्रदेश सरकार आन्तिरक मामिला मन्त्री एवं प्रवक्ता तिलकराम शर्माले केही मन्त्रीहरुले सम्पत्ति विवरण नबुझाएकाले सार्वजनिक नभएको प्रतिक्रिया दिए । ‘धेरै जसो मन्त्री ज्यूहरुले त धेरै पहिला नै मुख्यमन्त्री कार्यालयमा सम्पत्ति विवरण बझाउनु भएको छ । केही मन्त्री ज्यूहरुले आफ्नो सम्पत्ती विवरण बुझाउन बाँकी रहेकाले सम्पत्ती विवरण सार्वजनिक गर्न ढिलाइ भयो ।’–प्रवक्ता शर्माले भने ।

साथै मन्त्री शर्माले सम्पत्ती विवरण नबुझाएका मन्त्रीहरुलाई सम्पत्ति विवरण बुझाउन ताकेता गरिएको र अब छिट्टै नै मुख्यमन्त्री लगायत सबै मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरिने बताए ।