ताजा अपडेट »

पत्रकारद्वय ज्ञवाली र श्रेष्ठलाई ग्लोबल खेलकूद पत्रकारिता पुरस्कार

शनिबार, २१ फागुन २०७८

बुटवल । पत्रकारद्वय कपिल ज्ञवाली र स्वस्तिक श्रेष्ठ ग्लोबल खेलकूद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । ग्लोबल मिडिया अन्तर्गत ग्लोबल सञ्चारगृहद्वारा सञ्चालित ग्लोबल आवाजद्वारा आयोजित ‘टेनस्टिल्स मिडिया कप फुटसल प्रतियोगिता–२०७८’ को अवसरमा पत्रकारद्वय पुरस्कृत भएका हुन् ।

पत्रकार ज्ञवालीलाई लामो समयदेखि पत्रकारितामा रहेर खेलकूद पत्रकारितामा पनि विशेष कलम चलाएको र गत वर्ष आयोजित फुटसलमा पत्रकारिताको माध्यमबाट विशेष सहयोग पुर्याएको भन्दै नगद रु ५ हजार र प्रशंसा पत्रद्वारा पुरस्कृत तथा सम्मान गरिएको प्रतियोगिताका संयोजक डि.बि.सुस्लिङले बताए ।

त्यसैगरी डेढ दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका स्वस्तिक श्रेष्ठले निरन्तर खेलकूद क्षेत्रमा कलम चलाउँदै आएको र ग्लोबल आवाज अनलाइनद्वारा आयोजित टेनस्टिल्स मिडिया कप फुटसल प्रतियोगिता–२०७८’ लाई पत्रकारिताको माध्यमबाट विशेष सहयोग गरेको भन्दै पुरस्कृत तथा सम्मान गरिएको संयोजक सुस्लिङले बताए ।

उनीहरुलाई शुक्रबार सम्पन्न फुटसल प्रतियोगिता ग्लोबल सञ्चार गृहका प्रबन्ध निर्देशक गौतम भुसाल,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल,प्रतियोगिताका निर्णायक समिति संयोजक यमलाल भुसाल लगाएतले सम्मान तथा पुस्कृत गरेका हुन् । अनलाइनले हरेका वर्ष आयोजना गर्ने फुटसल प्रतियोगितामा खेलकूद क्षेत्रमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गर्ने ग्लोबल मिडिया गु्रपका प्रबन्ध निर्देशक तथा ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसालले बताए।

पुरस्कृत ज्ञवाली बुद्ध टेलिभिजनका समाचार प्रमुख तथा नागरिक अनलाइनका सम्पादक हुन् भने श्रेष्ठ कान्तिपुरकर्मी तथा बुटवल टुडे दैनिकका सम्वाददाता हुन् । उक्त पुरस्कारबाट सम्मानित हुने ज्ञवाली पहिलो र श्रेष्ठ दोस्रो पत्रकार हुन् । दुबै सक्रिय युवा पत्रकारका रुपमा परिचित छन्।