ताजा अपडेट »

मिडिया कप फुटसलको उपाधि बुटवल टुडेलाई

शुक्रबार, २० फागुन २०७८

बुटवल । दोस्रो टेनस्टिल्स मिडिया कप फुटसल प्रतियोगिता–२०७८’को उपाधि बुटवल टुडे राष्ट्रिय दैनिकले जितेको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा बुद्ध टेलिभिजनलाई पराजित गर्दै बुटवल टुडे प्रतियोगिताको विजेता बन्न सफल भएको हो ।

फाइनलमा पराजित बुद्ध टेलिभिजन गत वर्षको विजेता हो । बुद्ध टेलिभिजनले भने यस वर्ष उपविजेतामै चित्त बुझाउनु परेको छ । उपािधसँगै बुटवल टुडेले नगद रु २५ हजार,प्रमाणपत्र (संस्थागत तथा खेलाडी) र मेडल प्राप्त गरेको छ भने उपविजेता बुटवल बुद्ध टेलिभिजनले नगद रु १५ हजार,प्रमाणपत्र (संस्थागत तथा खेलाडी) र मेडल प्राप्त गरेको छ

ग्लोबल मिडिया ग्रुप अन्तर्गत ग्लोबल सञ्चारगृहद्वारा सञ्चालित ग्लोबल आवाजले आयोजना गरेको प्रतियोगितामा रुपन्देहीका १३ सञ्चारगृहलाई पछि पार्दै बुटवल टुडे दोस्रो संस्करणको विजेत बनेको हो। साविकको विजेता बुद्ध टेलिभिजन र बुटवल टुडेबीचको फाइनल प्रतिपर्धामा निर्धारित समयमा २–२को बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

पेनाल्टीमा ३–२ ले बुटवल टुडेले जीत निकालेको प्रतियोगिताका निर्णायक समितिका सदस्य तथा बुटवल टुडेका विश्वास ढकालले बताए । चर्चित पत्रकार तथा फुटसलका दक्ष मानिने स्वस्तिक श्रेष्ठको अन्तिम तथा निर्णायक गोलले नै बुटवल टुडेलाई उपाधि चुम्न सफल बनाएको हो ।

कसले के जिते ?
प्रतियोगितामा बुटवल टुडेका सुशन थापा १२ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए । उनले ट्रफीसहित नगद रु २ हजार ५ सय प्राप्त गरेका छन् । त्यसैगरी उपविजेता बुद्ध टेलिभिजनका रोहित चौधरी प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बन्न सफल भए । उनले पनि ट्रफी,प्रमाण पत्रसहित नद रु २ हजार ५ सय प्राप्त गरेका छन् ।

लुम्बिनी दैनिकका सम्वाददाता तथा खेल पत्रकार दिपक न्यौपाने सर्वोत्कृष्ट खेलाडी घोषित भए । यससँगै उनले ट्रफी,प्रमाण पत्र र नगद रु ३ हजार ५ सय प्राप्त गरेका छन्। त्यसैगरी रेडियो लुम्बिनीका मोहन न्यौपानले उत्कृष्ट फर्वाडको उपाधि प्राप्त गरे । उपाधिसँगै उनले ट्रफी,प्रमाण पत्र र नगद रु २ हजार ५ सय प्राप्त गरे ।

प्रतियोगितामा राज्य टेलिभिजनका विष्णु भुसालले अनुशासित खेलाडी घोषित भए । प्रतियोगिताकै ज्येष्ठ खेलाडी रहेका उनले ट्रफी,प्रमाण पत्रसहित नगद रु २ हजार ५ सय प्राप्त गरेको प्रतियोगिताका निर्णायक समितिका संयोजक यमलाल भुसालले बताए ।

प्रतियोगिताका विजेता,उपविजेता तथा उत्कृष्ट विद्याका विजेतालाई ग्लोबल सञ्चारगृहका प्रबन्ध निर्देशक तथा ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसाल , पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगाएतले सम्मान तथा पुरस्कृत गरेका थिए ।

प्रतियोगिताकै अवसरमा संचारिका समूह रुपन्देही र क्रियाशिल महिला पत्रकार रुपन्देहीका बीच भएको मैत्रीपूर्ण महिला फुटसल खेलमा दुबै समूह बराबारीमा टुङ्गिएको थियो । उनीहरुले कप,प्रमाण पत्र र नगद रु ५ हजार संयुक्त रुपमा बाँडेका छन् । उक्त पुरस्कार ग्लोबल आवाज अनलाइनकी निर्देशक श्रृष्टि अधिकारीले प्रदान गरेकी थिइन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सनराइन फुटसलमा सम्पन्न प्रतियोगिताको उद्घाटन नगर प्रमुख बासुदेव घिमिरेले गरेका थिए । सो अवसरमा बोल्दै उनले छोटो समयमा छिटो,सत्थ,तथ्य समाचारमार्फत चर्चा कमाएको अनलाइनले खेलकूदको मार्फतबाट सञ्चार क्षेत्रमा योग्दान पुर्याएको बताए ।

उनले भने ‘ ग्लोबल आवाजले गतवर्षदेखि पत्रकारहरु आफ्नो पेशासँगै वर्षमा एकदिन एकै ठाउँमा रहेर खेलकूदको माध्यमबाट एक हुने अवसर जुटाएको छ । छोटो समयमा अनलाइनले जसरी समाचारको माध्यमबाट चर्चा कमाएको छ , प्रतियोगिता गरेर पनि सफल भएको छ । पत्रकारको लागि नगरले पनि गर्नुपर्ने सहयोग र भूमिकामा हाम्रो साथ हुनेछ । यसका लागि महासंघसँग छलफल गरेर अगाडि बढ्न तयार छौं ।’

प्रतियोगिताको दोस्रोे संस्करणमा रुपन्देहीमा सञ्चालित ४ टेलिभिजन, ४ रेडियो, ३ दैनिक पत्रिका र ३ अनलाइन गरी १४ सञ्चारगृह प्रतिस्पर्धामा थिए । आयोजक ग्लोबल आवाज अनलाइन, राज्य टेलिभिजन, रेडियो लुम्बिनी, रेडियो जागरण, रेडियो खस्यौली, लुम्बिनी टेलिभिजन, बुद्ध सामुदायिक टेलिभिजन, दैनिक पत्र दैनिक, खबर पात्रो, बुटवल टुडे, दैनिक, लुम्बिनी दैनिकको सहभागिता रहेको थियो । समता टेलिभिजन र रेडियो मलमलाले प्रतियोगितामा सहभागि हुनका लागि नाम दर्ता गरे पनि प्रतियोगितामा सहभागि भएका थिएनन् ।

त्यस्तै प्रतियोगितामा गतवर्ष उत्कृष्ट खेल पत्रकारिता गरेको भन्दै नागरिक अनलाइनमा सम्पादक तथा सामुदायिक टेलिभिजनका समाचार संयोजक कपिल ज्ञवालीलाइ र यस वर्ष बुटवल टुडेका स्वस्तिक श्रेष्ठलाइ नगद सहित सम्मान गरिएको छ । सम्मानसँगै उनीहरुले नगद रु ५–५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगिता अपेक्षित रुपमा सम्पन्न र सफल भएको भन्दै ग्लोबल आवा अनलाइनका समाचार प्रमुख तथा प्रतियोगिताका संयोजक डि.बी.सुस्लिङले धन्यवाद ज्ञापन गरेका छन् । प्रतियोगिता टेनस्टिल्सको मुख्य प्रायोजन,हाइलाइफ फुड्सको प्रायोजन,शाइन रेसुङ्गा बैंक, लगाएत विभिन्न उद्योग तथा संघसंस्थाको प्रायोजनमा भएको हो । राज्य टेलिभिजन र बुटवल टुडेले मिडिया पार्टनरको भूमिका निर्वाह गरेका थिए ।