ताजा अपडेट »

रुपन्देहीमा शुक्रबार मिडिया कप फुटसल : कसले मार्ला बाजी ?

विहीबार, १९ फागुन २०७८

बुटवल । रुपन्देहीका विभिन्न सञ्चारगृहमा आवद्ध सञ्चारकर्मीहरु शुक्रबार फुटसल प्रतिस्पर्धाका लागि मैदानमा उत्रदै छन् । जिल्लाका १४ वटा सञ्चार गृहमा आबद्ध सञ्चारकर्मीहरु फुटसल मैदानमा उत्रने भएका हुन् । सञ्चारगृह तथा सञ्चारकर्मीहरु बीच मैत्रिपूर्ण सम्बन्ध कायम गर्नका लागि आयोजित मिडिया कप फुटसलमा उपाधि प्राप्त गर्ने कुरालाई पनि महत्वकासाथ हेरिएको छ ।

ग्लोबल सञ्चारगृहद्वारा सञ्चालिन ग्लोबल आवाजले आयोजना गरेको दोस्रो ‘टेनस्टिल्स मिडिया कप फुटसल–२०७८’को उपाधि कसले चुम्ने हो सञ्चारकर्मीहरु बीच अड्कलबाजी भइरहेका छन् । २० वटा सञ्चारगृह सहभागी भएको पहिलो संस्करणमा बलियो देखिएका सञ्चारगृहहरुको अंक तालिकालाई विश्लेषण गर्दै सम्भावित विजेताहरुको आँकल हुने गरेका छन् । दोस्रो संस्करणमा सहभागी हुने सञ्चारगृहको संख्या १४ मा झरे पनि नयाँ सञ्चारगृहहरु समेत यो प्रतियोगितामा सहभागि भएकाले भविष्यवाणी फरक पर्ने सम्भावना पनि उत्तिकै देखिएको छ । गत संस्करणमा छुटेका लुम्बिनी अनलाइन, खबर पात्रो डटकम, समता टेलिभिजन, दैनिक पत्र र खस्यौली एफ. एम. पनि प्रतिस्पर्धामा उत्रिने भएपछि खेल थप रोचक हुने अनुमान गरिएको छ ।

यो संस्करणमा रुपन्देहीमा सञ्चालित ४ टेलिभिजन, ४ रेडियो, ३ दैनिक पत्रिका र ३ अनलाइ गरी १४ सञ्चारगृह प्रतिस्पर्धामा उत्रिने भएका छन् । गत संस्करणको विजेता बुद्ध सामुदायिक टेलिभिजन, उपविजेता रेडियो लुम्बिनीसँगै बुटवल टुडे दैनिक, खस्यौली एफएम, लुम्बिनी दैनिक र राज्य टेलिभिजनलाई बलियो समूहका रुपमा लिइएको छ । गत वर्षको विजेता र उपविजेता एउटै समूहमा भएकोहुँदा समूहचरणको खेल नै प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गरिएको छ । यसैगरी पहिलो संस्करणमा सेमिफाइनलमा प्रवेश गरेका बुटवल टुडे दैनिक र ग्लोबल आवाज एउटै समुह ‘बी’ मा रहेका छन् । यो संस्करणमा सहभागि भएका नयाँ समूहको खेल हेर्न बाँकी रहेका कारण उनीहरु पनि उपाधि दाबेदार हुन सक्ने उत्तिकै सम्भावना रहेको चर्चा हुने गरेका छन् । यसैगरी गत वर्ष समयमै उपस्थित नहुँदा प्रतियोगितामा सहभागि हुन नपाएको खस्यौली एफ.एम. पनि कडा प्रतिस्पर्धी हरेको विश्लेषण गर्ने गरिएको छ ।

सञ्चारकर्मीहरु बीच हुने मैत्रीपूर्ण खेलमा कुनै पनि समूहले आफूलाई उपाधि दाबेकार हुनसक्ने दाबी नगरे पनि उनीहरु आन्तरिक रुपमा तयारी भने गरिरहेको प्रतियोगिताका संयोजक डि.बी.सुस्लिङले बताए । प्रथम पुरस्कार २५ हजार नगदर राशी तथा दोस्रो पुरस्कार १५ हजार नगद राशी रहेको प्रतियोगितामा विधागत रुपमा समेत पुरस्कारको व्यवस्था गरिएको संयोजक सुस्लिङले बताए ।

शुक्रबार तिलोत्तमा–७ भलवारी स्थित सनराइज फुटसल एरिनामा पत्रकार महिलाहरु बीच हुने मैत्रिपूर्ण प्रतियोगिता थप रोमाञ्चक हुने देखिएको छ । कोरोना महामारीका कारण लामो समय घर तथा सञ्चारगृहमा समय बिताएका सञ्चारकर्मीहरुलाई एकै स्थानमा जम्मा गराई मनोरञ्जनसँगै आपसी सद्भावको विकास गर्ने उद्देश्यले गतवर्षदेखि प्रतियोगिता सुरु गरेको ग्लोबल सञ्चारगृहका प्रबन्ध निर्देशक तथा ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसालले जानकारी गराए ।

प्रतियोगितामा अनुमानित करिब ४ लाख खर्च हुने निर्देशक भुसालले बताए । सञ्चारकर्मीहरुलाई पनि खेलको माध्यमबाट एक आपसमा भेटघाट र आत्मियता बढाउने उद्देश्यसहित मैत्रिपूर्ण खेल आयोजना गरिएको निर्देशक श्रृष्टि अधिकारीले जानकारी गराइन् । प्रतियोगितालाई उपाधि चुम्ने होडभन्दा बढी मैत्री पूर्ण सम्बन्ध कायम गर्ने माध्यमका रुपमा लिइएको सम्पादक एन.बी. कंडेलले बताए ।