ताजा अपडेट »

दूतावासविरुद्ध स्टाटस लेखेकै अभियोगमा रुपन्देहीका पत्रकार पाण्डेलाई युएईमा तीन महिना कैद !

विहीबार, १९ फागुन २०७८

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत युएईस्थित नेपाली दूतावासको आलोचना गरेकै आरोपमा पत्रकार उमाकान्त पाण्डेले तीन महिना जेल सजाय र झन्डै आठ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । उनलाई दुबई अदालतले मंगलबार तीन महिना जेल सजाय हुने फैसला गरेको हो । दुबई बसेर नेपाली पत्रकारिता गर्दै आएका पाण्डेलाई सजाय भुक्तानपछि युएई सरकारले देश निष्कासन (डिपोट) गर्नेछ ।

करिब एक दशकदेखि युएईलाई कर्मथलो बनाएर बसिरहेका अर्घाखाँची स्थायी घर भई रुपन्देहीमा बसोबास गर्दै आएका पाण्डे गत मंगलबार (फेब्रुअरी १५)का दिन युएईको प्रशासनले हिरासतमा लिएको थियो । उनका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुक बन्द गरिनेछ । पाण्डेले जरिवानाबापत २० हजार दिराम (सात लाख ९९ हजार चार सय रुपैयाँ)जरिना तिर्नुपर्नेछ । यूएईको कानुनअनुसार अदालतको फैसला चित्त नबुझे फैसला भएको १४ दिनसम्म अदालतविरुद्ध अपिल गर्न सकिन्छ । गत जनवरी ७ अर्थात् पुस २३ गते पाण्डेले नेपालमै हुँदा सामाजिक सञ्जालमा भिजिट भिसामा यूएईस्थित नेपाली दूतावास संलग्नता रहेको भन्ने आशयमा स्टाटस लेखेका थिए।

गत जनवरीमा नेपालमै हुँदा उनले युएईस्थित नेपाली दूतावासको क्रियाकलापका सम्बन्धमा फेसबुकमा स्टाटस लेखेका थिए । त्यसलगत्तै रुष्ट दूतावासका कर्मचारीले दुबई प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई प्रहरीले गत ३ फागुनमा पाण्डेलाई पक्राउ गरेको थियो । लगत्तै अबुधावीस्थित अल वाथ्बा जेलमा राखिएको थियो । सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठहर्‍याएर दुबई अदालतले यस्तो फैसला गरेको हो ।

युएई दूतावासले पाण्डेलाई नियोजित ढंगले पक्राउ गर्न लगाएको भन्दै पत्रकार महासंघले यो विषय इन्टरनेसनल फेडेरेसन अफ जर्नानिस्ट ९आइएफजे०मा लैजाने जनाएको छ ।