भैरहवा । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा पदार्थमा मूल्यवृद्धि भएसँगै नेपाल आयल निगमको लुम्बिनी प्रदेश कार्यालयले पेट्रोलियम पदार्थ बितरणमा नियन्त्रण गरेको छ । यता पेट्रोलियम ब्यवसायीहरुले निगमले माग अनुसारको पेट्रोलियम पदार्थ नपाईएको गुनासो गरेका छन् । यसले बजारमा पेट्रोलियम पदार्थको अभाव हुने उनिहरुको भनाई छ ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले आयल निगमले माग अनुसारको पेट्रोलियम उपलब्ध नगराएको आरोप लगाए । “केन्द्रले माग अनुसारको पेट्रोलियम उपलब्ध गराउन भने पनि भलवारीमा त्या लागु भएको छैन ।” न्यौपानेले भने “आयल निगमले बजारमा पेट्रोलियम पदार्थको अभाव श्रृजना गराउन एकतर्फी रुपमा माग अनुसारको दिएको छैन ।”
तेल भएर पनि आयल निगमले नदिएको बताउदै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले खेद समेत ब्यक्त गरेको छ ।
पेट्रोलियम ब्यवसायीहरुले बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने देखे पछि आवश्यकता भन्दा बढी माग गरेको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयको भनाई छ । कार्यालयका प्रवन्धक मनोहर डिसीका अनुसार भैरहवा डिपोले दैनिक रुपमा बिक्री गर्ने तेल भन्दा पनि आज बढी वितरण गरिएको जनाए ।
“भलवारी डिपोमा दैनिक रुपमा १३ सय देखी १४ सय किलोलिटर तेल जाने गरेको छ ।” डिसीले भने “आज १ हजार ८ किलोलिटर तेल गएको छ । मूल्य बढ्ने देखेपछि ब्यवसायीले आवश्यकता भन्दा बढी माग गरिरहेका छन् ।”
बजारमा डिपोबाट पेट्रोल दैनिक ३ सय देखी ४ सय बिक्रि हुने गरेकोमा आज आज ४ सय किलोलिटर पेट्रोल पठाईएको डिसीको भनाई छ । यस्तै १ हजार २ सय किलोलिटर सरदर माग रहेकोमा आज १ हजार ४ सय किलोलिटर पठाईएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा पदार्थको मूल्य १ सय ८ डलर प्रति ब्यारेल रहेको र नेपाल आयल निगमले प्रतिब्यारेल ८० डलरको हाराहारीमा बिक्री भइ रहेको छ । यसले आयल निगम अहिले पनि मासिक ६ अर्ब रुपैया घाटामा रहेको डिसीले जनाए ।
भारतमा अहिले निर्वाचन भई रहेको र सीमा बन्द रहेको कारण पनि थोरै भए पनि पेट्रोलियम पदार्थको अभाव रहेको निगमको भनाई छ ।
प्रतिक्रिया