ताजा अपडेट »

भैरहवामा ५० करोड बढी लागतमा अपाङ्गमैत्री तारे होटल

मंगलबार, १७ फागुन २०७८

भैरहवा । ५० करोड रुपैयाँ बढी लगानीमा भैरहवामा अपाङ्गमैत्री ३ तारे गौतमबुद्ध एयरपोट होटल सञ्चालनमा आएको छ । गैरआवसिय नेपाली र नेपाली नागरिकको संयुक्त लगानीमा मंगलबारदेखी उक्त होटल सञ्चालनमा आएको हो ।

गैर आवसिय नेपालीहरु जीवा लामिछाने, हरिबोल भण्डारी, गौरीराज जोशी र नेपाली नागरिक शिवभक्त पोखरेलको संयुक्त लगानीमा खोलिएको होटलमा थप लगानी गरि ४ तारे सम्म विस्तार गर्ने योजना रहेको छ । होटलका प्रोजेक्ट डाईरेक्टर देव कुमार खड्काले हाल होटलमा ४४ वटा कोठा रहेको बताए । “फेमिली डिलक्स रुम, ट्विन रुम, किङ्ग बेड भएको सुपर डिलक्स रुम, सुपरियर रुम रहेको छ ।” खड्काले भने “यस अतिरिक्त होटलमा स्विमिङ्ग पुल, फिट्नेश सेन्टर, सोना स्टिम र ३ वटा कन्फ्रेन्स हल रहेको छ ।”

हाल ५० करोडको लगानी रहे पनि भविष्यमा यसमा थप २० करोड रुपैया थपेर होटलमा क्यासिनो लगायतका सुविधा पनि थपिने खड्काको भनाई छ । होटललाई मनोरन्जन र धार्मिक पर्यटक तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरि बिमानस्थल नजिकै सञ्चालनमा ल्याईएको छ । भारतीय पर्यटक र लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरि अहिले होटलले आफ्नो क्रियाकलाप अगाडी बढाएको छ । यस अतिरिक्त होटलमा रहेको स्विमिङ्ग पुललाई स्थानियहरुलाई लक्षित गरि दिउसोमा सञ्चालन गरिने प्राजेक्ट म्यानेजर खड्काको भनाई छ ।
ग्राहकहरुको लागी रेष्टुरेन्ट (बारसहितको रुफटप रेष्टरेन्ट र कमन रेष्टुरेन्ट), ओपन पुल साइड किचन, स्विमीङ पुल, एक सय जना क्षमताको सेमिनार हल, फिटनेस सेन्टर, ज्याकुजी लगायतको छ ।

पारिवारिक जमघटका लागि आउने ग्राहकलाई होटलले गार्डेन स्पेसमै बार्बिक्यु सहितको भोज भत्तेरको सेवा दिने तयारी गरेको छ । भारतदेखि गौतमबुद्धको जन्मथलो लुम्बिनी भ्रमणका लागि आउने पर्यटकका लागि होटलले आफ्नै गाडी मार्फत विस्तृत भ्रमण गराउने छ ।
होटलका सञ्चालक शिवभक्त पोखरेलको अनुसार होटललाई अपाङ्गमैत्री बनाईएको छ ।

होटलमा प्रवेश गर्ने ¥याम्प देखी उनिहरुको लागी प्रयोग हुने कोठा तथा शौचालयहरुलाई अपाङ्गमैत्री बनाईएको उनले बताए । यस अतिरिक्त होटल प्रवेश गर्ने स्थानमा पर्यटकहरुले भैरहवाको मौलिक परिवेशको समेत अवलोकन गर्न पाउने छन् । यसको लागी होटल नजिकै रहेको गाउँको बाटो हुदै होटल प्रवेशको बाटो बनाईएको पोखरेलले जनाए । १० कठ्ठा क्षेत्रफलमा रहेको होटलमा हाल २५ जनाले रोजगार पाएका छन् । होटल पूर्ण रुपमा सञ्चालनमा आए यसमा रोजगारी पाउनेको संख्या ४५ जनासम्म पुग्ने होटल ब्यवस्थापनले जनाएको छ ।