ताजा अपडेट »

मेसिनबाट गहना उत्पादन गर्ने फोरनाइन गोल्ड प्रा.लि.द्वारा शोरुम तथा बिक्री केन्द्र सञ्चालन

मंगलबार, १७ फागुन २०७८

बुटवल । मेसिनद्वारा गहना उत्पादन गर्दै आएको फोरनाइन गोल्ड प्रा.लि.ले आफ्नै शो रुम तथा बिक्री केन्द्र फोरनाइन गोल्ड ज्वेलर्स सञ्चालनमा ल्याएको छ । प्रा.लि.ले शो रुम तथा बिक्री केन्द्रको मंगलबार बुटवल,विपि पथमा एक कार्यक्रमका बीच उद्घाटन गरेको हो ।

विगत ४ वर्षदेखि मेसिनबाट सुन तथा चाँदीका गहना उत्पादन गर्दै आएको प्रा.लि.ले आफ्ना उत्पादन आँफै होलसेल तथा खुद्रा बिक्री गर्ने उद्देश्यले शो रुम तथा बिक्री केन्द्रका रुपमा गोल्ड ज्वेलर्स सञ्चालनमा ल्याएको ज्वेलर्सका प्रोपराइटर किसन विश्वकर्माले बताए।

प्रोपराइटर विश्वकर्माले पश्चिम क्षेत्रमै मेसिनबाट गहना निर्माण गर्ने आफू पहिलो र एकमात्रै रहेको दावी गरे । उनले भने ‘हामीले पहिलोपटक पश्चिम क्षेत्रमै पहिलोपटक हामीले गहना बनाउने मेसिन भित्राएका हौं । र, अहिले पनि हामी मात्रै छौं । मेसिनबाट छिटो,छरितो र शुद्धता हुने गर्दछ ।’

बुटवल–११ देविनगरमा रहेको उनको फोरनाइन गोल्ड प्रा.लि.द्वारा उत्पादित सुन तथा चाँदीका गहनाहरु बुटवल लगाएत पूर्वमा नारायणगढ र पश्चिममा दाङ्ग,नेपालगञ्जसम्म बिक्री हुने गरेको प्रोपोराइटर विश्वकर्माले बताए । विश्वकर्मा डिजाइनर पनि हुन् । उनले समय सापेक्ष तथा मागअनुसारका गहना डिजाइन तथा उत्पादन गर्दै आएको बताए ।

विगत १० वर्षदेखि सुनचाँदी व्यवसायमा संलग्न हुँदै आएका २८ वर्षिय युवा विश्वकर्माले काष्टिङ मेसिनबाट दैनिक सय प्रकारका,एक किलोसम्मका गहना उत्पादन गर्न सकिने बताए । रु एक करोड लागतबाट कम्पनी तथा व्यवसाय सुरु गरेका विश्वकर्माले हाल २ करोड ५० लाख बढीको लागत रहेको बताए ।

वि.पी.पथमा सञ्चालनमा आएको फोरनाइन गोल्ड ज्वेलर्सको उनकी आमा मिना विश्वकर्माले उद्घाटन गरेकी हुन् । गोल्ड प्रालिमा हालसम्म ८ जना रोजगाररत रहेको र ज्वेलर्समा ५ जना रोजगार हुने फोरनाइन गोल्डका अर्का सञ्चालक गोविन्द विश्वकर्माले बताए ।