भैरहवा । भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सुचारु अघि गरिएको यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सफलता पूर्वक सकिएको छ । क्यालिब्रेशन फ्लाईटको प्रारम्भिक रिपोर्ट भने आई सकेको छैन ।
गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका महाप्रवन्धक गोबिन्द प्रसाद दहालले प्रारम्भिक रिपोर्ट नआए पनि यान्त्रिक उडानमा सबै राम्रो भएको थाईको प्राविधिक टोलीले जनाएको बताए । ७ देखी १० दिन भित्र त्यसको रिपोर्ट पनि प्राप्त हुने अपेक्षा गरिएको दहालले जनाए । थाइल्याण्डबाट ल्याइएको विशेष विमान मार्फत उडान भरेको विमानको दुरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परिक्षणहरु गरिएको हो ।
थाइल्याण्डको पाइलटसहितको प्राविधक टोलीले नौ दिनसम्म यान्त्रिक उडान गरेर संचार लगायत उपकरणहरुको जाँच गरेको हो । विमानस्थल संचालन पूर्व जडान गरिएको संचार उपकरणहरुको परिक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । जसबाट जडान गरिएका उपकरणहरु ठिक भए नभएको रिपोर्ट आएपछि सोही अनुसार अघि बढ्छ ।बिमानस्थलका महाप्रवन्धक दहालले अब बिमानस्थल सञ्चालनको लागी सरोकारवाला निकायहरु बिच बैठक बसी छलफल गर्ने जनाए । फागुन २३ गते सबै निकायहरु बिच छलफल गरिने र यसै छलफलबाट धेरै कुराको टुङ्गो लाग्ने बताए ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि सुरु गरेको थियो । आइसिबी वान अन्तर्गत धावनमार्ग तीन हजार मिटर, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तरराष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, ५ सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, धावन र ट्याक्सी वे सबै काम रहेका थिए जुन अहिले सबै निर्माण सम्पन्न भई सकेका छन् ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत ६ अर्ब ८२ करोडको । दोस्रो अन्तराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा करिब ८ सय बिगहामा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको छ ।
प्रतिक्रिया