ताजा अपडेट »

महाशिवरात्रि पर्व र भगवान

मंगलबार, १७ फागुन २०७८

नेपालमा प्रचलित विभिन्न  चाडपर्वहरू मध्ये शिवरात्रि पनि एक ठूलो चाड हो । यो पर्व प्रत्येक फाल्गुन कृष्ण चतुर्दशी तिथिमा मनाउने गरिन्छ । यस दिनमा शिवको ज्योतिर्लिङ्ग उत्पत्ति भएको हुनाले शिवजीको जन्मदिनकै रूपमा मनाउने गरिन्छ । यसै दिन शिवजीको पार्वतीसँग बिवाह भएको हो भन्ने मान्यता पनि छ । यसैले पनि  यो दिन अत्यन्तै पावन दिन हो ।

भाद्र कृष्ण जन्माष्टमीलाई मोहरात्रि र आश्विन शुक्लअष्टमीलाई कालरात्रि भनेजस्तै शिवरात्रिलाई महारात्रि पनि भन्ने गरिन्छ। रात्रिकालिन समयमा पूजा उपासना गरिने भएकाले शिवरात्रि वा महारात्रि भनिएको हो। महाशिवरात्रिका विषयमा यस्तो किवदन्ती छ । एकपटक फाल्गुन कृष्ण त्रयोदशीका दिनमा एउटा सिकारी सिकारको खोजीमा जङ्गलमा गयो। जङ्गलमा उसले पानी खोज्दै कुवाँ नजिकै आइरहेको हरिणलाई देख्यो र धनुष उठाई मार्न तम्स्यो । हरिणले सिकारीको छेउमै आएर  मलाई नमार, मार्ने नै हो भने भोलि मार । अहिले मेरा बच्चाहरू भोकले मर्न लागेका छन् । तिनका लागि आहारको बन्दोबस्त गरेर फर्कन्छु । त्येती बेला जे ईच्छा लाग्छ गर्नु म बेइमानी गर्नेछैन । भोलि बिहान हुनसाथ म हाजिर हुनेछु भनी सिकारीसँग अनुनयविनय गर्‍यो। सिकारीले पनि उसलाई वाचा अनुरूप छाडिदियो ।

उसले त्यो दिन अरू सिकार पनि भेट्टाउन सकेन र रातभरि त्यही जङ्गलमा एउटा रूखमा उसको बास भयो । संयोगले उ चढेको रूख बेलको थियो, रूखमुनि शिवलिङ्ग पनि थियो । जाडोको मौसम, रातको समय बिताउने क्रममा उसले अन्जानमै बेलपत्र टिप्तै तल खसाल्यो । वेलपत्रले शिवलैङ्ग ढाकियो भने रातभरको भोक र चिसोले शिउ शिउ गर्दागर्दै अन्जानमै शिवनामको जप समेत गर्‍यो । यसबाट शिवजी प्रसन्न भएर शिकारीलाई दर्शन दिए र भने – तिमीलाई ईच्छा लागेको वर माग म दिन्छु अब शिकारीको मन पनि परिवर्तन भयो र म हजुरसँगै मोक्ष हुन पाउ भन्यो । शिवजी पनि तिम्रो ईच्छा पूरा हुनेछ  भनी अन्तर ध्यान हुनु भयो । तब हरिणको बाचा अनुसार बिहानपख शिकारी भएको ठाउँमा आइपुग्याे र हे शिकारी अब मलाई आफ्नो इच्छा अनुसार उपयोग गर भन्यो । तर उसले शिवजीको दर्शन पाएपछि शिकारी प्रवृत्ति त्यगेको हुनाले उसले हरिणलाई पनि मुक्ति दियो ।

शिवरात्रिको दिन बिहानैदेखि शिवालयमा भक्तहरूको घुइँचो लाग्दछ । दिनभरनै भक्तहरू आवतजावत गरिनै रहन्छन् । यद्यपि शिवजीको विशेष पूजाआजा रातमानै हुने गर्दछ । शिवलिंगमानै शिवको स्वरूप मानेर पूजा गरिन्छ । महाशिवरात्रि पर्वका प्रसङ्गमा लिङ्ग पुराणमा भनिएको छ । फाल्गुन कृष्ण त्रयोदशीका दिन स्नान गरि शुद्ध मनले निराहार रहि जागा बसेर चतुर्दशीका दिन महादेवको दर्शन पूजा गरेमा सबै कार्य सिद्ध हुन्छ । यही मान्यता अनुसार महादेवको पूजा आराधाना गर्ने गरिन्छ । अविवाहित महिला असल पतिको कामना गर्दै व्रत बस्दछ्न् । भने बिवाहित महिला पति र सन्तानको सुस्वास्थ दीर्घायुको कामना गर्दै व्रत बस्दछ्न् र अन्य भक्तहरू आआफ्नो इच्छा र कामना सिद्ध होस् भन्ने मनोकामना राखेर व्रत पूजा गर्दछ्न् ।

प्रत्येक तीन घण्टाको एक प्रहर हुन्छ । रातभर जागराम बसि प्रहर–प्रहरमा शिवजीको चार प्रहर पूजा गरिन्छ । जलार्पण, रूद्राभिषेक र भजन किर्तन पनि गरिन्छ । अष्टादशपुराणेषु दशभिर्गीयते शिवः चतुर्भिर्भगवान् ब्रह्मा द्वाभ्यां देवी तथा हरि–स्कन्दपुराण, केदारखण्ड अर्थात् अठार पुराण मध्ये दश पुराणमा शिवको चरित्र र स्तुति छ, चार पुराणमा ब्रह्माको, दुई पुराणमा देवीको र बाँकी दुई पुराणमा बिष्णुको वर्णन छ। यसर्थ शास्त्रमा पनि भगवान शिवको स्थान अति विस्तृत ढंगबाट रहेको देखिन्छ ।

शिवपुराण, लिङ्गपुराण, स्कन्दपुराण लगायत पुराणहरूमा शिवको चरित्र वर्णन गर्दै शिवनै परम आदरणीय परमेश्वर, विश्व ब्राह्मणका सिद्धि र शक्तिको रूपमा स्पष्ट गरिएको छ । भगवान शिवजीको बाघको छाला, नागको माला लगाएका, हातमा त्रिशूल र डमरू लिएका, श्मसान घाटमा बस्ने, वृष अर्थात् साँढेमाथि चड्ने, विष भाङ धतुरो खाने, दिगम्बर, नन्दी भृङ्गी, शृङ्गी साथमा राख्ने खालको स्वरूप चिन्तन गरिन्छ । भगवान शिवलाई भोलेबाबा, पशुपतिनाथ, शंकर, नीलकण्ठ, महाकाल, महामृत्युन्जय, आशुतोष, सर्बेश्वर, महादेव लगाएत १००८ नामले शास्त्रमा सम्बोधन गरेको पाईन्छ ।

भगवान शिव विद्या र ज्ञानका देवता हुन् । भनिएको पनि छ  ईशान सर्व विद्यानाम् ।  शिव शब्दको अर्थ कल्याण हो । शिव आशुतोष अर्थात् चाडो प्रसन्न हुने देवता पनि हुन् । वास्तवमा शिव आत्मरूप नै हुन्। हिजोआज हाम्रो समाजमा शिवरात्रिको नाममा भाङ, धतुरो गलत तरिकाले सेवन गर्न थालेको पनि देखिन्छ जुन उचित होइन । मन्दिरमा चडाउनु परम्परा हो । आयुर्वेदिक औषधिको रूपमा चिकित्सा शास्त्रको परम्परा हो । तर दुर्व्सनसेवन गर्नुहुन्छ भन्दै केही मानिस दुर्व्यशनि  तर्फ लाग्ने माध्यम बनाएका छन्, यद्यपि यो पूर्ण गलत परम्परा हो पर्वका नाममा भित्रिएको बिकृति हो। भगवान शिवका स्वरूप र लीलाका आ-आफ्ना रहस्य र कारण छन् । यसर्थ भगवान शिवको जीवनलीला र त्यसको रहस्य गरिमालाई बोध गरौं । जीवनलाई कल्याणकारी मार्गमा लगाउने प्रयत्न गरौं ।