ताजा अपडेट »

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयले माओवादीभित्र बढायो असन्तुष्टी

आइतबार, १५ फागुन २०७८

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)ले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि पार्टी भित्र असन्तुष्टी बढेको छ । माओवादीका केही नेताहरुले पार्टीको निर्णयप्रति असन्तुष्टी जनाउँदै गम्भिर असहमति प्रकट गरेका छन् । 

‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ट्वीटर मार्फत असन्तुष्टी जनाएका छन् । 

माओवादी केन्द्रले यसअघि एमसीसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने र संशोधन नगरे संसदमा हुने मतदानमा विपक्षमा मतदान गर्ने अडान माओवादीको थियो । 

तर, एमसीसीकै कारण सत्ताबाट बाहिरिनु पर्ने अवस्था आएपछि माओवादीको आइतबार विहान बसेको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं । यो महाधिवेशनको बिरुद्ध छ  र गलत छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।  
माओवादी केन्द्रका अर्का नेता लीलामणि पोखरेलले व्याख्यात्मक घषणासहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् । 

पार्टीको निर्णयपछि कुरा गर्दै एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने उनले बताए । ‘एमसीसीमा ब्याख्यात्मक घोषणासहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्छ । यो ब्याख्याले सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा हुँदैन,’ पोखरेलले भने ।व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले बताए ।