बुटवल । टिडिओ नेपाल र रुपन्देहीको तिलोत्तमास्थित सुनौलो फामेर्सीले प्रत्येक शनिबार नियमित स्वास्थ्य शिविरको आयोजना गरेका छन् । मणिग्राम चोकमा रहेको सुनौलो फामेर्सीले प्रत्येक हप्ताको शनिबार निःशुल्क तथा सशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको हो ।
टिडिओ नेपाल र फामेर्सीले विशेष छुटका साथ प्रत्येक हप्ताको शनिवार निममित स्वास्थ्य शिविर गर्दै आएको फामेर्सीका अध्यक्ष अशोक क्षेत्रीले बताए । ‘हामीले ५ हप्ता अघिबाट नै प्रत्येक हप्ताको शनिबार नियमित स्वास्थ्य शिविरको सञ्चालन गर्दै आएका छौँ ।’ अध्यक्ष क्षेत्रीले भने ‘यो शिविर आगामी दिनमा पनि प्रत्येक हप्ताको शनिबार नै सञ्चालन हुने छ ।’
शिविर टिडिओ नेपाल (TDO Nepal)को सहकार्यमा सञ्चालन भएको हो । स्वास्थ्य नै सम्पत्ति हो भन्ने मूल नाराका साथ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापित टिडिओ नेपालले काठमाण्डौं पछि बुटवल र भैरहवामा पनि सेवा विस्तार गरेको हुनाले स्वास्थ्य शिविर सञ्चालनका लागि सहकार्य गरेको टिडिओ नेपाल लुम्बिनीकी प्रतिनिधि ज्योति अधिकारीले जानकारी गराइन् ।
स्वास्थ्य शिविरमा सुगर र किड्नी परीक्षण निःशुल्क गरिने अध्यक्ष क्षेत्रीले बताए । साथै शिविरमा थाइराइट, ब्लडप्रेसर, हार्डजोर्नी, जर्नल फिजिसियन र छालाको परिक्षणमा भने विशेष छुटको व्यवस्था रहेको उनले बताए ।
स्वास्थ्य शिविरमा अहिलेसम्म ३५० जनाले सेवा लिएको उनले बताए । ‘शिविरबाट अहिलेसम्म ३५० जनाले सेवा लिइसक्नु भएको छ ।’ उनले भने ‘ हिजो मात्रै ७५ जनाले सेवा लिनु भएको थियो ।’ साथै शिविरमा औषधि खरिद गर्दा पनि विशेष छुटको व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए।
शिविरमा मनिष कुमार गुप्ता, दिपेन्द्र कार्की, अविशेक विलास पन्त लगाएतका डाक्टरहरुले सेवा दिने अध्यक्ष क्षेत्रीले बताए।
प्रतिक्रिया