ताजा अपडेट »

लुम्बिनीमा ईण्डो–नेपाल क्रिकेट प्रतियोगिता

शनिबार, १४ फागुन २०७८


भैरहवा । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ईण्डो–नेपाल क्रिकेट प्रतियोगिता हुने भएको छ । लुम्बिनी नव युवा क्लबको अयोजनामा “पडरिया लुम्बिनी नक आउट ईण्डो नेपाल क्रिकेट टुर्नामेन्ट” हुने भएको हो । फागुन २१ गते बाट आयोजना हुने प्रतियोगितामा नेपालका १६ र भारतका १६ गरि ३२ वटा क्रिकेट टिमले सहभागीता जनाउने आयोजकको भनाई छ ।

लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरि क्लबले प्रतियोगिता बारे जानकारी गराएको छ । क्लबका अध्यक्ष अहमद हुसेनका अनुसार प्रतियोगितामा भारतको गोरखपुर रेलवे लगायत आजमगढ, देवरिया बडहलगंज, उस्का, बढनी, डुमरियागन्ज लगायतका टिमहरुको प्रतियोगितामा सहभागीता रहने छ । यस्तै नेपालबाट भैरहवा वरियर्स, बुटवल युथ, कृष्णनगर, गूलमी रुपाकोट, कपिलवस्तु, रक ११ स्याङ्गजा, ग्राण्ड कस्मो लगायतको टिमहरु सहभागी हुनेछन् ।

१ लाख २५ हजारको प्रथम पुरस्कार राशी रहेको यस प्रतियोगितामा द्धितिय हुनेलाई ७० हजार दिईनेछ । साथै म्यान अफ द मैच, म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याट्सम्यानलाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ ।
१५/१५ ओभरको खेलमा नेपालका टिमलाई नेपाली र भारतका टिमलाई भारतीय संग नै प्रतिष्पर्धा गराईने छ । “फाईनलमा नेपाल र भारतको टिम दुवै पुगोस भन्ने उद्देश्यले टाईसिट बनाउदा नै आपसी भिडन्त हुने गरि बनाईनेछ ।” क्लबका सचिव ईफ्तेखार आलमले बताए । यस्तै नेपाली टोलीले बढीमा ३ जना सम्म बिदेशी खेलाडी खेलाउन पाउने छन् । फाईनलमा पुग्ने टिमले भने सो दिन मात्र थप २ जना गरि बढीमा ५ जना बिदेशी खेलाडी खेलाउन पाइने आलमले जनाए ।

बिगत ३ बर्ष देखी नियमित हुदै आएको प्रतियोगितामा सरकारी स्तरबाट भने कुनै सहयोग पाउन नसकेको क्लबका अध्यक्ष अहमद हुसेनले गुनासो गरे । उनले लुम्बिनी मात्र हैन यस क्षेत्रमै स्थापित प्रतियोगिता रहे पनि रुपन्देही क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद र लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट समेत कुनै प्रकारको सहयोग नपाएको बताए ।

“यस क्षेत्रमा चरम राजनितिकरण छ, खेलमा पनि राजनिति पसेको कारण त्यसको प्रत्यक्ष मारमा हामी खेलाडी परेका छौं ।” हुसेनले भने “खेलकुदको विकासमा र यसको उत्थानको पहल गर्ने स्थानिय सरकार पनि यस बिषयमा उदासिन रहेको छ ।”
स्थानिय स्तरको प्रतियोगितामा सबै राजनैतिक दल र लुम्बिनीका बुद्धिजिवीहरुले सहयोग गर्न क्लबले आव्हान गरेको छ । राजनैतिक द्धन्द्धलाई भुलाउदै यसलाई खेल भावनाबाट हेर्न आयोजकले आग्रह गरेको छ ।