ताजा अपडेट »

माओवादी तिलोत्तमा-१० को वडा कमिटी एमाले प्रवेश

शनिबार, १४ फागुन २०७८

अन्य पार्टी परित्याग गरी एमाले प्रवेश
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु नेकपा एमाले प्रवेश गरेका छन् ।

शनिबार वडा नं. १० को बेबरीमा आयोजित एक कार्यक्रममा उनीहरुलाई पार्टीका केन्द्रीय सचिव तथा रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले पार्टी प्रवेश गराए ।
शनिबार वडा नं. ७, १० र ११ मा अन्य पार्टीमा रहेका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु एमाले प्रवेश गराएका हुन् ।

वडा नं. १० का नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष कलम बहादुर चौधरीको नेतृत्वमा सिंगो वडा कमिटी नैं एमाले प्रवेश गरेको कार्यक्रममा जानकारी गराइएको छ । यस्तै वडा नं. ७ बाट सागर थापा र वडा नं. ११ बाट बेमबहादुर बरालको नेतृत्वमा युवाहरु पार्टी प्रवेश गरे । पार्टी प्रवेश गर्नेहरुले एमालेले संघीय, प्रदेश सरकारमा रहँदा गरेका विकास निर्माण तथा तिलोत्तमा नगर सरकारले गरेका कामबाट आफूहरु प्रभावित रहेको र मुलुकलाई विकास गर्ने पार्टी एमाले रहेको ठहर गरी आफूले एमाले पार्टी रोजेको बताएका थिए । कार्यक्रममा पार्टी सचिव विश्वकर्माले एमाले पार्टी प्रवेश गर्नेहरुले उचित जिम्मेवारी प्राप्त गर्ने बताए ।

सो अवसरमा पार्टीका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, युवा नेता आशिष पाठकलगायतले बोलेका थिए । नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेयको अध्यक्षता, सचिव मिनप्रसाद पोखरेलको सञ्चालन तथा उपाध्यक्ष नेत्र वनको स्वागतमा कार्यक्रम भएको हो ।