ताजा अपडेट »

रुपन्देहीको मर्चवार: ब्यवस्था फेरियो अवस्था उस्तै

शुक्रबार, १३ फागुन २०७८

भैरहवा । स्थानीय तहको निर्वाचन संगै जनमानसमा समस्या समाधान हुने ठूलो अपेक्षा रहेको थियो । गाउँ गाउँमा सिंह दरबार आए पछि रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा विकासको लहर आउने मर्चवारवासीको आशा थियो । जिल्लामा अपेक्षाकृत पिछडिएको क्षेत्रको रुपमा रहेको मर्चवारमा ब्यवस्था फेरिएको र सिंहदरबार आएको ५ बर्ष बितिसक्दा पनि उनीहरुको अवस्थामा भने परिवर्तन नआएको गुनासोहरु आउने गरेको छ ।

मर्चवार र जिल्लाको सदरमुकाम जोड्ने एकमात्र सडकको अवस्था जीर्ण भएपछि सर्वसाधारणको आवतजावतमा समस्या थपिएको छ । केही वर्षअघि गरिएको कालोपत्रे फुटेर दर्जनभन्दा बढी ठाउँमा खाल्डाखुल्डी परेका छन् । सडकमा खाल्डो भएको हो कि खाल्डोमै सडक बनेको हो भन्नेमा झुक्किनु पर्ने अवस्था रहेको छ । मर्चवार र भैरहवा जोड्ने बाटोको मर्चवारी गाउँपालिका अन्तरगत ईलाका प्रहरी कार्यालय मर्चवार अगाडी बाटो बिग्रेको बर्षौ भयो । तर यसको मर्मतमा न स्थानीय सरकारको ध्यान गएको छ न अन्य निकायको नै । मूख्य बाटोमै यो हविगत रहेको अवस्थामा भने अधिकांश अन्य भित्रि बाटोहरुको अवस्था पनि यो भन्दा फरक छैन ।

हिलो र धुलो नेपाली सडकको पहिचान नै हो । रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको दुरावस्था पनि भिन्न छैन । सडकहरू ठाउँठाउँमा टुटेका र भत्केका छन् । खाल्डाखुल्डी परेको सडक मर्मतसम्भारको अभावमा मर्चवारबासी सास्ती खेप्न बाध्य छन् । यात्रा गर्दा दर्जनौँले दुर्घटना भोगेका छन्, कैयौँको पोशाकमा हिलो छ्यापिएको छ । हल्का पानी पर्दा सडकमा ताल खेलेको जस्तो देखिन्छ ।

खाल्डाखुल्डी र भत्किएका सडकका कारण सवारी यात्रा कष्टप्रद छ । ‘यात्रुहरूले ठूलै जोखिम मोलेर यात्रा गरिरहनु परेको छ,’ बेतकुईयाका रामविकास चौधरी भन्छन्, परिवर्तनका लागि देशको सम्पूर्ण आन्दोलनमा प्रभावकारी भूमिका खेलेको यो क्षेत्रमा राणाकाल, पञ्चायती प्रजातन्त्र, बहुदलीय व्यवस्था हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म पनि अवस्था ज्यूँका त्यूँ रहेको । चौधरीले भने, ‘व्यवस्था फेरियो तर मर्चवारको अवश्था उस्तै छ ।’

कोटहीमाई, मर्चवारी र सम्मरीमाई तीन गाउँपालिकासहित मायादेवीको वडा नं.५, ६ र ७ जोडिएको यो क्षेत्रमा एउटा मात्र प्राथमिक स्वास्थ्य केन्द्र छ, तर विशेषज्ञ चिकित्सक (डाक्टर) कमै मात्र बस्छन् । यो क्षेत्रका १५ स्वास्थ्य चौकी र पाँच आधारभूत स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी सेवा दिन सकेका छैनन् । आकस्मिक घटना–दुर्घटना निम्तिए खाल्डाखुल्डी सडककै कारण सदरमुकाम भैरहवा स्थित सुविधा सम्पन्न अस्पताल पु¥याउन ढिलो हुन्छ ।

मर्चवारका जनप्रतिनिधिले स्थानिय तहको बजेटले अस्पताल सञ्चालन गर्न नसकिने र प्रदेश र संघले यसमा चासो नदेखाएको गुनासो राखेका छन् । सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ले पछिल्ले बर्ष १५ शैयाको अस्पताल बनाउने घोषणा गरे पनि अहिले सम्म यस क्षेत्रमा त्यसको सुरुवात हुन नसकेको बताए ।

झन्डै दुई सय वर्ग किमी क्षेत्रफलमा फैलिएको मर्चवारमा सवा लाखभन्दा बढी मानिसको बसोबास छ । यो क्षेत्रले २०१४ साउन ११ देखि कात्तिक १४ सम्म डा. केआई सिंहलाई प्रतिनिधिको रूपमा प्रधानमन्त्री, त्यसपछि दीपक बोहरा, निरन्जन थापा र सर्वेन्द्रनाथ शुक्ललाई विभिन्न महत्वपूर्ण मन्त्रीको रूपमा पटक–पटक पाएको छ । यतिमात्र होइन मर्चवारमा नेपाल राष्ट्र बैङ्कको गभर्नर र सर्वोच्च अदालतको प्रधानन्यायाधीश लगायत सपूत पनि जन्मे हुर्केको यथार्थ छ ।

पानी परे हिलोको असर, न परे धुलोको असर । बोल्नेले नबोलिदिएपछि, सडक बनाउनेले नबनाइदिएपछि मर्चवारबासी त्यही भाँसिए, बिग्रिएको हिलाम्मे र धुलाम्मे हुने खाल्डाखुल्डी भएको सडकमा हिँड्न बाध्य छन् । लुम्बिनी प्रदेशमै अन्नको भकारी मानिने मर्चवार क्षेत्रमा न राम्रो सडक छ, न सुविधासम्पन्न अस्पताल न त भरपर्दो बिजुलीपानीको व्यवस्था । यहाँ फेरिएको जनप्रतिनिधिका जीवनशैली र नफेरिएको जनताको जीवनस्तरले भन्छ, ‘के यो विकास हो ?’

सडक पूर्वाधार भरपर्दो नभएकै कारण सुगम जिल्लाको मर्चवार क्षेत्र दुर्गम भएको भन्दै सञ्चारकर्मि समेत रहेको रामविकास चौधरी भन्छन्, ‘सडकको हालत उस्तै रहिरहनुमा यस क्षेत्रबाट जो–जो गाउँपालिका अध्यक्ष, सांसद र मन्त्री बन्नुभयो, उहाँहरूकै निरिहता हो,’ चौधरीले भने, ‘सडक नेताहरूको प्राथमिकतामा परेकै छैन ।’ यस क्षेत्रबाट चुनिएका जनप्रतिनिधिको उदासिनताका कारण सडक स्तरोन्नति नभएको उनको भनाइ छ ।

चौधरीकै भनाई संग मेल खान्छ मर्चवारकै मेवालाल मल्लाहको । उनले जुन सोचले स्थानीय जनप्रतिनिधिलाई भोट दिएको हो सो सोच पुरा नभएको गुनासो गरे । “ नया नेपालमा हाम्रो ब्यवस्थापन सरकारले राम्ररी गर्नेछ, बाटोहरु बन्नेछ, विकासका काम हुनेछ, गरिबी कम हुनेछ लगायतको आशा रहेको थियो ।” मल्लाहले भने “तर हाम्रो त्यो सोच पुरा हुन सकेन, अवश्था उस्तै रहेको छ ।”

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मायादेवी–७ बनगाईमा मर्चवार सडकको केही भाग अधिग्रहण गरेपछि अर्को स्थायी सडक समयमा नबनाइदिँदा र माथिल्लो तहका सरकारले निर्माण थालेको बेथरी–खैरा सडक योजना निर्माण सम्पन्न नहुँदासम्मका लागि समस्या जटिल बन्दै गएको छ । मर्चवारका क्षेत्रका जनप्रतिनिधिहरुले भने मर्चवारमा अपेक्षाकृत रुपमा विकास नभए पनि यी ५ बर्षमा उल्लेख्य रुपमा कामहरु भएको दावी गर्दछन् ।

भौतिक पूर्वाधारका साथै स्वास्थ्य, शिक्षा, कृषिमा यस दौरान राम्रै प्रगति रहेको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)को दावी छ । “यी ५ बर्षलाई मैले चुनौतीको रुपमा लिए, सम्पूर्ण गाउँपालिकाको विकासको कार्यलाई चुनौतीको रुपमा लिएर अगाडी बढे ।” शुक्लले भने “पैदल हिड्न नसक्ने सडकबाट सुरु गरिएको विकासका काम स्वास्थ्य, शिक्षा, कृषि लगायतमा उल्लेख्य काम गरेका छौं ।”

जनप्रतिनिधिहरुले विकासको जति सुकै दावी गरे पनि मर्चवारको भौतिक विकास, शैक्षिक र स्वास्थ्यको बिषयमा स्थानियहरुको जुन अपेक्षा रहेको थियो त्यो भने पुरा हुन सकेन । भाषणमा आदर्श र क्रान्तिकारी कुरा गर्ने, व्यवहार ठिक उल्टो गर्ने तथा नातावाद र कृपावादमा लागेका जनप्रतिनिधिका कारण मर्चवारले अपेक्षाकृत विकास गर्न नसकेको त्यहाका बुद्धिजिविहरुको बुझाई रहेको छ ।