काठमाण्डौंं । प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारेमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधि सभा सचिवालयले सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा समावेश गरिसकेको छ ।
कार्यसूचीलाई बिहीबार नै बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सैद्धान्तिक छलफल प्रारम्भ हुन लागेको हो । एमसीसीको सैद्धान्तिक छलफल प्रारम्भअघि महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेसको कार्यसूची रहेको छ । सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्नुहुनेछ । सैद्धान्तिक छलफलमा सम्झौताका सिद्धान्तमाथि बहस हुनेछ ।
जसमा सभामुखले तोकेको समयसम्म नाम टिपाउने सदस्यहरूले धारणा राख्न पाउनेछन् । सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ । साथै जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ । सैद्धान्तिक छलफलपछि दफावार छलफल हुनेछ । दफावार छलफलमा सम्झौताको दफागत रूपमा विस्तृत छलफल हुनेछ । दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ ।
पारितका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत आवश्यक पर्नेछ । ध्वनि मत वा मत विभाजन दुवै प्रकारबाट पारित प्रक्रिया अघि बढ्न सक्नेछ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध जारी रहेकै अवस्थामा भने सम्झौता पारितमा मत विभाजनबाट सहज हुने अवस्था छ ।
अनिवार्य उपस्थित हुन निर्देशन
यसैगरी नेपाली काँग्रेसले बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमका अनुसार पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको हो । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको फागुन ८ गतेको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि प्रस्तुत गरेेेेका छन् ।
लोसपा पक्षमा
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा रहने निर्णय गरेको छ । लोसपा नेपालको संसदीय दलको बुधबार बसेको बैठकले एमसीसी विकास परियोजना भएकाले यसको पक्षमा रहने निर्णय गरेको लोसपाका नेता डा.सुरेन्द्रकुमार झाले बताए। बैठकले एमसीसीबारे आवश्यकताअनुसार थप निर्णय गर्नु परेमा त्यसको अधिकार अध्यक्ष महन्थ ठाकुरलाई प्रदान गरेको उनले बताए ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं सांसद शरतसिंह भण्डारीले आफ्नो पार्टीले एमसीसीका पक्षमा मतदान गर्ने बताए । उनले एमसीसी संसद्बाट अनुमोदन गर्नुपर्ने बताउँदै यस विषयमा चलाइएको भ्रम एमसीसी कार्यान्वयनमा गएपछि निवारण हुने उल्लेख गरे । बिहीबार प्रतिनिधि सभाको बैठकमा सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन लोसपाले निर्देशन दिएको छ । प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन् ।
प्रतिक्रिया