ताजा अपडेट »

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा देशकै ठूलो सांगीतिक झरना

बुधबार, ११ फागुन २०७८

भैरहवा । भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण भएर सम्पन्न भएको छ । मुलुककै दोश्रो अन्तराष्ट्रिय स्तरको बिमानस्थल भएको कारण यसले भैरहवा र रुपन्देहीको मात्र नभई देशकै अर्थतन्त्रमा अग्रणी भुमिका खेल्ने बताउदै स्थानीयहरु उत्साहित भएका छन् ।

बिमानस्थल प्रति नेपालीहरुको रुझानलाई हेर्दै यसलाई आकर्षक बनाउने प्रयास गरिएको छ । अन्तराष्ट्रिय स्तरको भएको कारण बिमानस्थललाई पर्यटकीय बनाउन बनाउन पनि आयोजनाले प्रयाप्त ध्यान दिएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा देशकै ठूलो सांगितिक झरना (म्युजिकल फाउण्टेन) निर्माण भएको छ । रातीमा बिभिन्न धुनमा देखिने रंगीबिरंगी पानीले बिमानस्थल भएर जाने जो कोहीको ध्यान तान्ने गरेको छ । यात्रुहरु केही बेर अडिएर झरनाको फोटो र सेल्फी नलिई अगाडी बढ्नै सक्दैनन् ।

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल परियोजनाका प्रमुख प्रवेश अधिकारीका अनुसार ३० परिधिमा निर्माण भएको म्युजिकल फाउण्टेन सम्भवतः देशकै ठूलो रहेको बताए। उनले अहिले नेपालमा म्युजिकल फाउण्टेनको अवधारण नरहेको अवश्थामा यो आकर्षणको केन्द्र रहने बताए। बुद्ध भूमि भएको कारण राष्ट्रगानसहित बिभिन्न बुद्ध धुनहरुमा आकर्षक रुपमा पानीका फोहोरा निस्किने उनले बताए ।

करिब २ करोडको लागतमा तैयार भएको यो म्युजिकल फाउण्टेनमा संगीतकै तालमा पानीका फोहोराहरु निस्किने गरेका छन् । संगीतलाई नै पछ्याउदै पानीका फोहोराहरुले गरेको नृत्यले अधिकांशलाई मोहित बनाउने गरेको छ । आयोजना अहिले हस्तान्तरण नभएको कारण यसलाई दैनिक भन्दा पनि आवश्यकता अनुसार चलाउने गरिएको छ । बिमानस्थल सुचारु भए पछि यो नियमित रुपमा सञ्चालन हुने आयोजनाको भनाई छ ।

यस्तै बिमानस्थलको अर्को आकर्षणको रुपमा लुम्बिनी गार्डेन फाउण्डेशनले स्थापना गरेको बुद्ध मूर्ति रहेको छ । अढाई अर्व भन्दा बढी लागत दावी गरिएको सो मूर्तिलाई हेर्न र तस्विर लिन बिमानस्थल आउने अवलोकनकर्ताहरु आतुर हुने गरेका छन् । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल परियोजनाका प्रमुख प्रवेश अधिकारीले बुद्धभूमिमा बिमानस्थल बनेको कारण यहा बुद्ध भुमि संग झल्किने गरि पर्यटकिय क्षेत्र देखाउने केही संरचनाहरु निर्माण गरेको जनाए । उनले जेड धातुको मूर्ति सँगै बिमानस्थल परिसरमै स्तूपा र सानो पोखरी समेत निर्माण गरिएको बताए ।

यस्तै टर्मिनल भवनको आगमन कक्ष निर्माण गर्दा त्यसको छतमा बुद्धको आँखा आकृतिमा डिजाइन गरिएको छ । बिमानस्थलको प्रवेशद्वारलाइ अशोक स्तम्भको आकृतिमा डिजाईन गरि निर्माण गरिएको छ ।