ताजा अपडेट »

यूएईसँग ६८ रनले पराजित भएपछि विश्वकप खेल्ने नेपालकाे सपना अधुरै

मंगलबार, १० फागुन २०७८

काठमाण्डौं । दोस्रोपटक आईसीसी टी-२०विश्वकप खेल्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ । ग्लोबल छनोटअन्तर्गत सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएपछि फेरि विश्वकप खेल्ने नेपालको सपना अधुरै रहेको हो । यदि जित निकालेको भए नेपाली टिमले यही वर्ष अष्ट्रेलियामा हुने विश्वकप खेल्ने थियो ।

सेमिफाइनलमा यूएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । यूएईका अहमद राजाले सर्वाधिक ५ विकेट लिए । त्यसअघि, ओमानको अलअमरेत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो ।

उसका लागि मोहम्मद वसिम र वित्त अरविन्दले उत्कृष्ट पारी खेले । वसिमले ४८ बलमा चार चौका र चार छक्कासहित ७० रन बनाए । अरविन्दले २३ बलमा पाँच चौका र तीन छक्कासहित ४६ रनको आक्रामक पारी खेले । मोहम्मद उश्मानले १७ र जवार फरिदले ११ रनको योगदान दिए । बलिङमा अविनाश बोहरा, जितेन्द्र मुखियाले तीन/तीन र सन्दीप लामिछानेले एक विकेट लिए । नेपालले समूह चरणमा ओमानलाई ३९, फिलिपिन्सलाई १३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो । समूह ‘ए’ मा रहेको यूएईले आयरल्याण्ड, जर्मनीलाई हराएकाे थियाे । ऊ बहराइनसँग भने दुई रनले पराजित भएको थियो ।