ताजा अपडेट »

यूएईद्वारा बलियाे लक्ष्य प्रस्तुत, जवाफी ब्याटिङमा नेपाल

मंगलबार, १० फागुन २०७८

काठमाण्डौं । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा यूएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ । ओमानको अलअमरेत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो ।

उसका लागि मोहम्मद वसिम र वित्त अरविन्दले उत्कृष्ट पारी खेले । वसिमले ४८ बलमा चार चौका र चार छक्कासहित ७० रन बनाए । अरविन्दले २३ बलमा पाँच चौका र तीन छक्कासहित ४६ रनको आक्रामक पारी खेले । मोहम्मद उश्मानले १७ र जवार फरिदले ११ रनको योगदान दिए ।

बलिङमा अविनाश बोहरा, जितेन्द्र मुखियाले तीन–तीन र सन्दीप लामिछानेले एक विकेट लिए । अविनाशले नयाँ उपलब्धि हासिल गरेका छन् । उनले नेपालको तर्फबाट टी–२० मा सर्वाधिक विकेट लिने मामलामा तेस्रो बलर बन्दै इतिहास रचेका छन् । यसअघि अविनाश र सोमपाल कामीले ३१/३१ विकेट लिएका थिए ।

अब सोमपाललाई पछि पार्दै अविनाश तेस्रो स्थानमा उक्लिएका छन् । पहिलोमा भने सन्दीप लामिछाने छन् । उनले ३३ खेलमा ५८ विकेट लिएका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेको करण केसीले ३३ म्याचमा ४४ विकेट लिएका छन् ।

यूएईको तेस्रो विकेट कप्तान सन्दीप लामिछानेले लिए । उनले आक्रामक ब्याटर त्ति अरविन्दलाई बोल्ड गरेका हुन् । सन्दीपले अरविन्दलाई ४६ रनमा आउट गरे । भारतीयमूलका अरविन्दले २३ बलमा पाँच चौका र तीन छक्कासहित ४६ रनको आक्रामक पारी खेले ।

यसअघि नेपाललाई पहिलो सफला जितेन्द्र मुखियाले दिलाए । उनले चिरागलाई ४ रनमा बोल्ड गरेका हुन् । भारतीय मूलका चिराग यूएईका लागि टी–२० मा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनी यसअघि आईपीएलको राजस्थान रोयल्समा पनि जोडिसकेका छन् । यद्यपि सुरीले आईपीएलमा खेल्ने मौका भने पाएनन् ।

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले सेमिफाइनलमा कुशल मल्ललाई विश्राम दिएर युवा अलराउन्डर विवेककुमार यादवलाई प्लेइङ–११ मा समावेश गरेको हो । लगातार दुई खेलमा कमजोर ब्याटिङ गरेपछि कुशलले आज प्लेइङ–११ मा मौका पाउन असफल भएका हुन् ।