ताजा अपडेट »

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोदीको पुत्ला जलाउने

बुधबार, २० कार्तिक २०७६

कार्तिक २०
ग्लोबल आवाज

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतले नेपालको भूमिलाई आफ्नो नक्सामा राखेको विरोधमा आन्दोलनको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दे  भारतको उक्त कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते संघर्षको कार्यक्रम घोषणा गरेका छन्। उक्त पार्टीले  मसाल जुलुश, भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने र नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

सार्वजनिक गरिएको कार्यक्रम अन्तर्गत आगामी कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ। ‘यो भारतको साम्राज्यवादी, अतिक्रमणकारी रवैया नेपालमाथिको हमला हो। नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो’ । विज्ञप्तिमा उल्लेख  छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भागलाई भारतमा गाभेकोमा आपत्ति जनाउँदै नेकपाले आन्दोलन घोषणा गरेको  हो।