भैरहवा । कोटहीमाई गाउँपालिका वडा नम्बर–३ कुडसरकी वृद्धा रफिकुननिसा फुसकै छानो भएको आफ्नो घरमा ९ जना परिवार सहित बसि रहेकी थिइन । गत आर्थिक वर्षको माघ महिनामा गाउँपालिकाले उनको फुसको घरको ठाउँमा पक्की दिवाल भएको घर बनाउने भएपछि उनि खुशी हुँदै उक्त फुसको घर भत्काइन् । एक महिनामा तयार हुने र त्यसपछि पक्कि घरमै बस्ने सपना देखेकी रफिकुन एक वर्ष बितिसक्दा पनि नयाँ घरमा सर्न सकेकी छैनन् ।
यस बीचमा उनि आफूले पालेका बाख्रासहित ९ जनाको परिवारलाई जेनतेन भत्केको घरमा ब्यवस्थापन गरिरहेकी छन् । एउटै कोठामा सबै जना खानेबस्ने देखी त्यही सुत्ने गरेका छन् । असारे झरिसँगै पुष र माघको कठ्यांग्रिने चिसो समेत उनले सामना गरिन तर अहिलेसम्म उनको घर पूरा भएको छैन ।
रफिकुनको भन्दा पनि खराब अवस्था छ सोही गाउँका सम्सुद्दिन मुसलमानको । माटोको भित्ता र फुसको छानो भएको ईनको घरको भित्ता फुटेर घर बाहिरको सबै दृश्य देखिन्छ । घर आज अथवा भोलीमै भत्किन्छ जस्तो छ । सम्सुद्दिन एक महिनामा निर्माण हुने भनेर सुरु गरेको घर त्यस यता ठेकेदारको मुखै नदेखेको बताउछन् । रफिकुन र सम्सुद्दिन त प्रतिनिधि पात्र मात्र हुन कोटहीमाई गाउँपालिका निर्माण हुने भनिएका यस्ता २४ घर परिवारको अवस्था अत्यन्त खराब रहेको छ । गाउँपालिका र ठेकेदारको चरम लापारवाहिको कारण विपन्न परिवारहरु सास्ती खेप्न बाध्य हुनु परेको छ ।
कोटहीमाई गाउँपालिकाले विपन्न घरधुरीहरु मध्ये खरको छानो भएको घरलाई बिस्थापन गरि पक्की दिवालमा टिनको छानो भएको घर बनाउन बजेट विनियोजन भए पनि यो योजनाले अहिले सम्म मूर्त रुप पाउन सकेको छैन् । गाउँपालिका अध्यक्षकै छोरा सञ्चालक रहेको ठेकेदार कम्पनीलाई नै सो काम गर्ने ठेक्का दिए पछि गत आर्थिक बर्षमा सुरु भएको सो योजना अहिले सम्म पुरा हुन सकेको छैन ।
तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगत कोटहीमाई गाउँपालिकाले ५० लाख संघिय सहयोग र ४० लाख आफैले लगानी गरि ९० लाखमा विपन्न घरधुरीहरुको घर निर्माण गर्ने योजना ल्याएको थियो । गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवको छोरा विकास यादव प्रोपाईटर रहेको अंशुमन निर्माण सेवाले ६१ लाख रुपैयामा सो घरहरु बनाउने ठेक्का पायो । सोही बमोजिम एउटा वडामा ३ वटा र गाउँपालिका अध्यक्ष यादवको कोटामा ३ वटा घर गरि जम्मा २४ वटा घर २०७८ जेठको २५ गते भित्र बनाउने भनेर २०७७ मंसिर ८ गते गाउँपालिका र निर्माण कम्पनी बीच सम्झौता भयो ।
जेठको २५ गते नै निर्माण सम्पन्न हुनु पर्ने घरहरु अहिले सम्म पनि निर्माण हुन नसक्दा कोटहीमाईका २४ घर परिवारको अहिले उठिबास भएको छ । गाउँपालिका अध्यक्षको छोरा भएकै कारण गाउँपालिकाले निर्माण कम्पनी माथि कार्यवाही गर्न सकेन र २०७८ कार्तिक २५ गतेसम्म फेरी म्याद थप गरि दियो । तर, सो अवधिमा पनि उनले उक्त घरहरु बनाएनन् । अहिले फेरी कार्यपालिकाले निर्णय गर्दै चैत्रसम्मको म्याद थप गरिदिएको छ । निर्माण कम्पनीले कामै नगरि गत आर्थिक वर्षमा ठेक्का रकमको ५४ प्रतिशत अर्थात ३३ लाख ३३ हजार रुपैया भुक्तानी लिई सकेका छन् ।
कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणी मरासीनीले गाउँपालिका अध्यक्षको छोरा भएकै कारण केही दबावमा परेको बताए । उनले कार्यपालिकाले चैत्र सम्मको म्याद थप गरि दिएको र सो अवधिमा पनि निर्माण पूरा नगरे निर्माण कम्पनीलाई कार्यवाही गर्ने जनाए । उनले आफु गाउँपालिकामा आएपछि अनुगमनलाई कडा बनाएको दावी गरेका छन् । ठेकेदार कम्पनीलाई ताकेता गरे पछि अहिले २४ घर मध्ये १६ वटा घर निर्माण सम्पन्न भएको गाउँपालिकाको दावी छ ।
गाउँपालिकाले विपन्न परिवारको लागि बनाएको उक्त घर गुणस्तरयुक्त नभएको भन्दै वडा अध्यक्षहरुले गुनासो समेत ब्यक्त गरेका छन् । अध्यक्षकै छोराले गरेको कामको कारण प्रभावकारी अनुगमन नभएको र त्यसको मार आफूहरुले खेप्नु परेको वडा नम्बर ५ का अध्यक्ष हनुमान यादवको भनाई छ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका जनप्रतिनिधिहरु परिवारोन्मुख हुँदा त्यहाका अधिकांश बिकास निर्माणका काम गुणस्तरहिन हुने गरेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।
प्रतिक्रिया