ताजा अपडेट »

तिलोत्तमामा सीई ग्रुपद्वारा नयाँ शहर निर्माणकाे लक्ष्यसहित ‘माया कम्पलेक्स’

सोमबार, ०९ फागुन २०७८

बुटवल । रुपन्देहीको तिलोत्तमामा सीई ग्रुपले काठमाण्डौं बाहिर पहिलो पटक ‘माया कम्पलेक्स’ परियोजना सुरु गरेको छ । रियलस्टेट, पूर्वाधार र जलविद्युतमा लगानी गरिरहेको सीई ग्रुपले तिलोत्तमामा नयाँ शहरको परिकल्पनासहित परिायेजना सुरु गरेको कम्पनीका मार्केटिङ्ग म्यानेजर दिपेन्द्र केसीले बताए ।

एउटै विशाल कम्पाउन्डभित्र हाउजिङ, अपार्टमेन्ट र कमर्शियल कम्पलेक्ससहित परियोजना रहेको कम्पनीले जनाएको छ । माया डेभलपर्स कम्पनीमार्फत नयाँ प्रोजेक्ट निर्माण सुरु गरेर सीईले रूपन्देहीमा आफ्नो बजार विस्तार गरेको योजनामा लागेको केसीले बताए । यसअघि सीईले साझेदारीमा रुपन्देहीमै विशाल परियोजना ‘हब लुम्बिनी’ निर्माण प्रकृया अगाडि बढाइसकेको छ ।

पहिलो चरणमा माया डेभलपर्सले माया रेसिडेन्सी निर्माण गर्नेछ । कुल ४० रोपनी क्षेत्रफलमा फैलिने यस परियोजनाभित्र ४८ वटा सिंगल युनिट घरहरु निर्माण गरिने छ । यो आयोजना भैरहवा बुद्धचोकबाट ६ किलोमिटर र राजमार्गबाट १.१ किलोमिटर दुरीमा अवस्थित छ । ‘ओन योर ओन होम’ नामक ट्यागलाइनको साथमा यो परियोजना ल्याइएको सीईका अध्यक्ष बिजयराज भण्डारीले बताए । धेरै सुविधाहरू लिएर व्यवस्थित समुदायमा घर बनाउने सपना देख्नेहरूका लागि यो परियोजना लक्षित रहेको उनको भनाई छ ।

माया रेसिडेन्सीमा बालबालिकाको खेल्ने क्षेत्र, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर र त्यहाँका बासिन्दाहरूको जीवनस्तर उकास्ने अन्य सुविधाहरू हुने छन् । दुई हजार ६० वर्ग फुटदेखि दुई हजार दुई सय वर्ग फुटसम्म क्षेत्रफलमा तीन प्रकारका घरहरु बन्ने बताइएको छ । आधुनिक र परम्परागत लुक्सको संयोजन गरिएका सबै घरहरुसाढे दुई तलका हुनेछन् ।

चार बीएचके घरमा भान्छा, बाथरुम, बस्ने र खाने ठाउँ, लुगा धुने कोठा, पूजा कोठा र परिवार कोठाका साथै बालकनी र कोठरी हुने छन् । सीईले बुकिङ खुला गरिसकेको हुँदा आवश्यकता अनुसार प्लट छनोट गर्न सकिने बताइएको छ । उनले माया कम्प्लेक्सलाई यस क्षेत्रको ल्यान्डमार्क बन्ने परिकल्पना गरेको पनि बताए ।