बुटवल । नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा आफ्नो अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-१ मा सुरु हुनेछ । क्यानडालाई हराउँदै नेपाल समूह बी को शीर्षस्थानमा रहँदै विजेता रुपमा सेमिफाइनल खेल्ने दाउमा रहेको छ ।
नेपाल विजेता बनेमा समूह ए को उपविजेता र उपविजेता बने समूह ए को विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउँछन् । यता क्यानडा पनि नेपाललाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गराउन चाहन्छ ।
नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष र क्यानडा समान खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको सन्दीप लामिछाने र क्यानडाको नवनित धालिवालले कप्तानी गर्नेछन् । नेपाल सामान्य अन्तरले पराजित हुँदा पनि सेमिफाइनलमा पुग्न सक्छ । नेपाल ३७ रन भन्दा कम अन्तरले पराजित भएमा क्यानडाभन्दा माथि नेटरनरेटको कारण सेमिफाइनलमा पुग्ने समिकरण छ । लक्ष्य पछ्याउँदा योगफलमा निर्भर हुनेछ । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो ।
क्यानडाले फिलिपिन्सलाई १ सय १८ रनले हराउँदा ओमानसँग ९ विकेटले हारेको थियो । नेपाल आजको खेलमा सामान्य अन्तरले पराजित हुँदा समूह बिजेता बन्नसक्छ । नेपाललाई अहिलेको अवस्थामा नेटरनरेटमा पछि पार्न क्यानडाले ३७ रन र ओमानले १ सय ७० माथिको जित निकाल्नुपर्ने हुन्छ ।
नेपालको बलियो पक्ष ब्याटिङ र तीव्र गतिको बलिङ आक्रामण हो । स्पिन र मध्यक्रम ब्याटिङ नेपालको कमजोरीको रुपमा छ । क्यानडाको शीर्षक्रमको ब्याटिङ मजबुत छ । तर बलिङ आक्रामण भने कमजोर देखिन्छ ।
टि२० आई मा नेपाल र क्यानडाबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । नेपालले २०१८ मा डिभिजन टु मा क्यानडामाथि अप्रत्याशित १ विकेटको जित निकाल्दै ओडिआई मान्यता सहज बनाएको थियो । क्यानडा आजको खेलमा उक्त हारको बदला लिने सोचमा हुनेछ । नेपाल क्यानडालाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्न खोज्नेछ ।
प्रतिक्रिया