ताजा अपडेट »

यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टर भाडामा सञ्चालन

बुधबार, २० कार्तिक २०७६

कार्तिक २०,
ग्लोबल आवाज

काठमाडौँ । यातायात व्यवस्था कार्यालय दाङको ट्रायल सेन्टर भाडाको जग्गामा सञ्चालित छ । तुलसीपुर उपमहानगरपालिका–६ स्थित शोभा भगवतीको गुठीको जग्गा भाडामा लिएर २०७० सालदेखि ट्रायल सेन्टर सञ्चालनमा ल्याइएको हो । कार्यालयले वितरण गर्ने सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि दिइने ट्रायल सेन्टरलाई १० वर्षका लागि भाडामा लिइएको हो ।

करीब २ बिघा जग्गा भाडामा लिएर ट्रायल सेन्टर सञ्चालनमा ल्याइएको कार्यालयका प्रशासन प्रमुख रेश्मीराज अधिकारीले बताए । जग्गाको वार्षिक ६० हजार रुपैयाँ भाडा तिर्ने गरिएको अधिकारीले बताए । उनका अनुसार ट्रायल सेन्टरका लागि आवश्यक जग्गा उपलब्ध गराइदिन प्रदेश सरकारलाई ‘स्टिमेट’ बनाएर पठाएको छ । सो स्टिमेट ५–६ महिना अघि पठाएको भएपनि हालसम्म कुनै चासो नदेखाएको उनले गुनासो गरे । कार्यालयले करीब ७० लाख रुपैयाँको स्टिमेट तयार पारेर प्रदेश सरकारलाई पठाएको अधिकारीको भनाइ छ ।  अहिले यातायात कार्यालय दाङ पनि भाडामा सञ्चालित छ । जसको भाडा मासिक ४५ हजार रुपैयाँ रहेको उनको भनाइ छ । २०६६ सालदेखि सो कार्यालय भाडामा बसेको हो । दुईतले रहेको उक्त भवनका १८ वटा कोठा भाडामा लिएको उनको भनाइ छ । कार्यालयलाई ती कोठा साना र अपुग हुने गरेकोसमेत उनले बताए । अर्कोतर्फ कार्यालयको उचित पार्किङसमेत नुहँदा समस्या हुने गरेको छ । कार्यालयको आफ्नै भवन निर्माणका लागि जग्गादाताको खोजी कार्य भइरहेको समेत अधिकारीले बताए ।