ताजा अपडेट »

नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेकोमा वैद्यको आपत्ति

बुधबार, २० कार्तिक २०७६

कार्तिक २०,
ग्लोबल आवाज

काठमाडौँ । मोहन वैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपाली भूभागलाई भारतले उसको नक्सामा समेटेकोप्रति आपत्ति जनाएको छ । भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग आफ्नो नक्सामा समेटिएको छ । भारतीयको यो रवैयालाई लिएर आलोचना भइरहेका बेला क्रान्तिकारी माओवादीले त्यसको कडा शब्दमा भत्र्सना गरेको हो ।

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्ने भूभागलाई भारतमा गाभिएको छ ।’  ‘यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नांगो अतिक्रमण हो ।’ नेपाली भूमि भारतीय नक्सामा समेटिएको विषयलाई कूटनीतिक पहलमार्फत समाधान गर्न पनि उसले सरकारसमक्ष माग गरेको छ । ‘भारतले गलत गरेकाले कडा विरोध गर्न, नेपालको सार्वभौमिताको पक्षमा दह्रोसंग उभिन र यसबारे तुरुन्तै आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।