काठमाडौँ । एमसीसीमा ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादी पार्टी (एस) को बैठक अहिले जारी छ। नयाँबानेश्वरमा जारी नेकपा (एस)को स्थायी समिति बैठकमा नेताहरुले धारणा राखिरहेको पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताएका छन् ।
उनका अनुसार बैठकमा बोल्ने अधिकांस नेताहरुले बिना संशोधन एमसीसी पास गर्न नहुनेमा जोड दिएका छन्। श्रेष्ठले एमसीसी आन्तरिक मामला भएको भन्दै हस्तक्षप सह्य नहुने बताएका छन्। बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे आधिकारिक धारणा तय गर्ने बताइएको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने बताउँदै आएका छन्। बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीबारे स्थायी समितिको बैठक बसेर आधिकारिक धारणा बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग समय मागेका थिए। व्याक्तिगत रुपमा अध्यक्ष नेपाल एमसीसीबारे नकरात्मक नरहे पनि उनको पार्टीका अन्य नेताहरु यथास्थितिमा अनुमोदन गर्न नहुने पक्षमा छन् ।
सो पार्टीका सम्मानित नेता झलनाथ खनाल एमसीसी कुनै पनि हालतमा अनुमोदन गर्न नहुने पक्षमा छन्। खनालको कारणपनि हध्यक्ष नेपाल दवावमा छन्। प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई एमसीसीबारे छिटो निर्णय गर्न आग्रह गरेका छन् ।
दाहाल र नेपालले नमाने नेकपा एमालेसँग सहकार्य गरी संसदबाट एमसीसी अनुमोदन गर्ने तयारी प्रधानमन्त्री देउवाले गरेका छन्। प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बिहीबार बेलुकी एमसीसी अनुमोदन गर्नेबारे छलफल भएको थियो। साथै आज बेलुकीसम्म नेकपा एसले एमसीसीको विषयमा ठोस धारणा बनाउने श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतिक्रिया