काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताएका छन् ।
देशमा लामो समयको राजनीतिक संघर्षपश्चात् मुलुकमा आर्थिक र सामाजिक रूपान्तरण गर्नुपर्ने बेला विदेशी अनुदानको विषयलाई लिएर राष्ट्रिय राजनीति नै जटिल मोडमा पुगेको उनले टिप्पणी गरेका हुन् ।
प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरू विदेशी अनुदानका विषयलाई भन्दा पनि मुलुकको आर्थिक र सामाजिक रूपान्तरणमा लाग्नु पर्नेमा जोड दिए ।
‘विदेशी अनुदानले नेपाली राजनीतिलाई विवाद र अप्ठेरोमा धकेलेको छ। दलहरूले यसअघि पनि धेरै समस्याको समाधान मिलेर गरेका छौँ । यो पनि गर्छौ भन्ने हाम्रो विश्वास छ’, पाण्डेले भने। उनले भोट घट्ने डरले सत्य कुरा बोल्नबाट राजनीति दलहरू डराइरहेको बताए।
बागमती प्रदेशलाई सफा र उज्यालो गर्ने काममा आफूहरू लागिपरेको उनले दाबी गरे। समाजमा रहेको असत्य, कुरीति र गलत क्रियाकलापको विरुद्ध सबैले आवाज उठाउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया