भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा बहुप्रतिक्षित क्यालिब्रेशन फ्लाईट् शुक्रबारबाट सुरु भएको छ । करिब १० दिन सम्म चल्ने यो उडानको लागि एरोथाईको प्राविधिक सहितको विशेष बिमान बिहिबार भैरहवा आई पुगेको हो । विशेष बिमानले भर्खर निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा कम्युनिकेशन, नेगिभेसन र सर्विलान्स चेकजाँच गरि बिमानस्थल उडानयोग्य रहे नरहेको रिपोर्ट पेश गर्नेछ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको आईसीबी–२ का परियोजना प्रमुख प्रविण न्यौपानेले बिमानस्थलको भौतिक पूर्वाधारको काम सम्पन्न भई उपकरण जडानको काम सकिएको जनाए । फाईनल टेष्टिङ र कमिशनिङको लागि ग्राउण्ड टेष्ट सकिएको र फ्लाईट टेष्ट गर्नको लागि एरोनटिकल रेडियो अफ थाईलैण्ड (एरोथाई) को फ्लाईट चेक एयरक्राफ्टले काम थालेको उनले बताए ।
क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो । यसैको लागि पाईलट, को-पाईलट सहित सात जना सहित विशेष बिमानले काम थालेको छ । यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्नेछ । उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेशन लगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुनेछ ।
निर्माण कार्य सकिए पनि क्यलिव्रसन फ्लाईटको लागी थाईलैण्डबाट नै विशेष जहाज आउनु पर्ने कोभिड सुरु भए देखी नै थाईलैण्डले आफ्नो देशमा आउने तथा देशबाट बाहिर जान पूर्ण रुपमा रोकेकोले पनि क्यालिव्रेसन फ्लाईट ढिलो भएको थियो । क्यालिब्रेशन फ्लाईट लगतै नेपाल एयरलाईन्सको ठूलो बिमानबाट बिमानस्थलको परिक्षण गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यसपछि अधिकतम ५६ दिन वा न्युनतम ४२ दिन पछि बिमानस्थलमा नियमित उडानहरु गरिने प्राधिकरणको भनाई छ ।
निर्माण सम्पन्न भई सकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलले अहिले महाप्रवन्धक (१२ औं तहको) समेत पाएको छ । महाप्रवन्धकको रुपमा गोविन्द प्रसाद दहाल अहिले भैरहवा बिमानस्थल पुगेका छन् । दहालले आजदेखी दैनिक ५ देखि ६ घण्टा क्यालिब्रेशन फ्लाईट हुने बताए । उनले एरोथाईका टोली फरवरी २७ तारीख सम्म भैरहवा बस्ने र यस बिच फरवरी २३ तारीखमा मात्र बिदा बस्ने बताए ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी वान) मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि सुरु गरेको थियो । आइसिबी वान अन्तर्गत धावनमार्ग तीन हजार मिटर, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, ५ सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, धावन र ट्याक्सी वे सबै काम रहेका थिए जुन अहिले सबै निर्माण सम्पन्न भई सकेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत ६ अर्ब ८२ करोडको । दोस्रो अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा करिब ८ सय बिगहामा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको आईसीबी–१ का परियोजना प्रमुख प्रवेश अधिकारीले बताए ।
बिमानस्थलमा कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग रहेको छ । यस्तै आगमन, प्रस्थान सहितको टर्मिनल भवन, प्रशासकिय भवन, खानेपानी, फायर स्टेशन, मौषम सम्बन्धि जानकारी दिने उपकरण सहित अत्याधुनिक एयर ट्राफिक टावर समेत निर्माण गरिएको छ ।
प्रतिक्रिया