ताजा अपडेट »

आइतबारदेखि सत्यवतीमा ‘चिच्याएर वर माग्ने’ मेला

बुधबार, २० कार्तिक २०७६


कार्तिक २०,
ग्लोबल आवाज
बुटवल । चिच्याएर वर माग्ने मेलाका रुपमा परिचित अर्थात् यस वर्षको सत्यवती मेला कार्तिक २४,२५ र २६ गते लाग्ने भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती , लगाडमा अवस्थित सत्यवती मन्दिरमा हरेक वर्ष कार्तिक पूर्णिमामा मेला लाग्ने गर्दछ । यस मेलामा सत्यवती बजैका नामले चिनिने सत्यवतीसँग चिच्याएर बर माग्ने भक्तजनहरुको भिड लाग्ने गर्दछ । कानले नसुन्ने सत्यवती बजैको दर्शन गर्ने भक्तजनले यहाँ चिच्चाएर वर मागे मनोकांक्षा पूरा हुने किंवदन्ती रहेको छ । सत्यवती मन्दिर ब्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलन गरी यस वर्षको सत्यवती मेलाको विषयमा जानकारी गराएको हो ।

सो अवसरमा बोल्दै तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले सत्यवती मन्दिरको इतिहास,महत्व र प्रवद्र्धन बारे प्रकाश पारेका थिए । त्यसैगरी गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तिमगरले धार्मिक महत्व र आस्थाको केन्द्र पाल्पाकै गर्व रहेको बताउँदै यसको संरक्षण र प्रवद्र्धनका लागि गाउँपालिकाले प्रयास गरिरहेको बताए । मन्दिर अवस्थित वडा नं.४ का अध्यक्ष दान बहादुर गाहाले सत्यवतीप्रतिको आस्था र विस्वास बढ्दै गएको हुनाले हाल दैनिक १५/१६ वटा गाडीमा श्रद्धालु भक्तजनहरु आउने गरेको बताए । यस वर्षको मेलाको तयारी र व्यवस्थापनका विषयमा बोल्दै मन्दिर विकास समितिका अध्यक्ष तिल बहादुर रानाले विगतका वर्षहरुमा भन्दा थप व्यस्थित बनाउने बताए । उनले भने‘विगतका मेलाहरुमा भएका कमी–कमजोरीहरुलाई सुधारदैं यस वर्ष सत्यवती मेलालाई व्यस्थित भव्य बनाउँदै करिब ३ लाख दर्शनार्थी भित्राउने लक्ष्य राखेका छौं ।’ यस वर्ष कार्तिक पूर्णिमाको जोग परेको हुँदा भक्तजनको संख्या बढ्नेमा आयोजकले विश्वास गरेको हो ।

४ रोपनी क्षेत्रफलमा फैलिएको सत्यवती ताल सिमसार क्षेत्रमा पर्ने दुर्लभ ताल हो । सत्यवती मन्दिर एवम् ताललाई ३ पटक घुमेर चिच्याएर बर माग्ने चलन छ । ताल घुमिसकेपछि तालको छेवैमा लिङ्गो गाड्ने चलन छ । यसरी आफूले गाडेको लिङ्गो छोएर चिच्याउँदै वर मागेमा पूरा हुने जनविश्वास छ । तानसेन र वुटवल क्षेत्रबाट आउने भक्तजनहरु पाल्पाको झुम्साबाट पैदल दुई घण्टाको उकालो हिडेपछि मन्दिरमा पुग्ने गर्दछन् । मेलाबारे जानकारी दिन गरिएको कार्यक्रममा तिनाउगाउँपालिका अन्तर्गतका वडाध्यक्षहरु,सुरक्षाकर्मी लगाएत स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव लाल ब.दर्लामीले गरेका थिए ।