काठमाडौँ । कुनै समय आयोजना नै खारेज हुने अवस्थामा पुगेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ आइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको हो । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
ढिलै भए पनि आयोजना सम्पन्न भएर क्यालिबे्रसन उडानको अवस्थामा पुग्नु सुखद भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । “क्यालिबे्रसन उडानले ७० वर्षपछि मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको ढोका खुल्नेछ,” उनले भने ।
कुनै पनि नयाँ विमानस्थल सञ्चालनमा आउनुपूर्व विमानस्थलमा जडान गरिएका हवाई उपकरणहरू परीक्षणका लागि गरिने उडान नै क्यालिबे्रसन उडान हो । क्यालिबे्रसन उडानपछि जडित उपकरणहरूले सही तरिकाबाट काम गरे या नगरेको तथा कुनै कमजोरी भए त्यो पत्ता लगाउन सकिने प्राधिकरणका सीएनएस विज्ञ मुकुल मिश्रले जानकारी दिए।
उनका अनुसार क्यालिबे्रसन उडानका क्रममा खासगरी एयर ट्राफिक नियन्त्रक ९एटीसी०सँगको सम्पर्क, सबैसँगको सञ्चार सम्पर्क, उपकरणमार्फत हुने अवतरण प्रणाली ९आईएलएस०, मौसमसम्बन्धी जानकारीलगायतका परीक्षण हुनेछन् । क्यालिबे्रसनका लागि आएको एरो थाईको उक्त जहाज फागुन १६ गतेसम्म नेपालमा रहनेछ । जहाजले यहाँ रहँदा एक हप्तासम्म क्यालिबे्रसन उडान गर्नेछ । उक्त उडान दैनिक छ घन्टासम्म हुनेछ । बिहान १० बजेदेखि हुने उक्त उडानको अवधिमा अन्य उडान भने हुने छैनन् । १० दिनसम्म क्यालिब्रेसन फ्लाइट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिने छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । प्राधिकरणका महानिर्देशक अधिकारीले सबै काम समयमै सम्पन्न भएमा बुद्ध पूर्णिमादेखि सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए। क्यालिबे्रसन उडानपछि त्यससम्बन्धी विस्तृत प्रतिवेदन दुई महिनापछि आउनेछ । प्रतिवेदनले परीक्षण उडानका लागि योग्य भएको उल्लेख गरेमा त्यसपछि परीक्षण उडान हुने उनले बताए । परीक्षण उडानपछि व्यावसायिक उडान हुनेछ ।
कस्तो छ गौतम बुद्ध विमानस्थल ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । हाल भैरहवा विमानस्थलका रूपमा आन्तरिक उडान सेवा मात्र प्रदान गरिरहेको यो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न सन् २०१२ देखि पहल सुरु गरिएको हो ।
सन् २०१४ जनवरीदेखि निर्माण सुरु भएको विमानस्थल सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर भूकम्प, ठेकेदारले भनेअनुसार काम गर्न नसक्नुजस्ता कारणले निर्माण अवधि पूरा गर्ने समयसम्म यसको एक चौथाइ भौतिक प्रगति पनि हुन सकेन । त्यसपछि आयोजनाको मुख्य वित्तीय सहयोगी एसियाली विकास बैङ्क ९एडीबी०ले यसबाट अलग हुने निर्णय गरेको थियो । यद्यपि नेपाल सरकारले आयोजना सम्पन्न गर्ने प्रतिबद्धताका साथ काम अघि बढाएपछि आयोजनाले निरन्तरता पाएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा यसको धावनमार्ग तीन किलोमिटर रहेको छ । पहिलो चरणमा कार्गो भवन निर्माण तथा विमानस्थल टर्मिनल भवन, एटीसीलगायतका काम सम्पन्न भएका छन् । यो टर्मिनलको वार्षिक २० लाखसम्म हवाई यात्रुलाई सेवा दिने क्षमता छ । विमानस्थलमा वाइड बडी जहाज अवतरण गर्न सक्छन् । काठमाडौँमा मौसमको खराबीका कारण अवतरण हुन नसकेको जहाज पनि यो विमानस्थलमा अवतरण गर्न सक्छन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमताभन्दा बढी यात्रुलाई उडान सेवा प्रदान गर्नु परिरहेको अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यसको विकल्पका रूपमा हेरिएको छ ।-विश्वास रेग्मी र लक्ष्मण पौडेल/गोरखापत्र
प्रतिक्रिया