बुटवल । अपाङ्गता भएका व्यक्तिहरुको लागि उर्जाशिल अवसर तथा रोजगारको आवश्यकता रहेको सरोकारवालाले बताएका छन् । फाउण्ड परियोजना बुटवल क्लस्टरले अपाङ्गता भएका व्यक्तिहरुको उर्जाशिल अवसर आवश्यकता रहेको बताउँदै यसका लागि सञ्चार क्षेत्रको सहयोग र भूमिका महत्वपूर्ण हुने जनाएको छ ।
बिहीबार पत्रकार महासंघ रुपन्देहीको समन्वयमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्दै संस्थाले सो कुरा बताएको हो । ‘रोजगारविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशिल अवसर’ सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा परियोजनाको परिचय,उद्देश्य र उपलब्धीहरु सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिहरुको अवसर र प्रोत्साहनका लागि सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको भन्दै सहकार्य गर्न सञ्चारकर्मीहरुसँग आग्रह गरेको छ ।
देशका ५ औद्योगिक शहरबाट अपाङ्गताका क्षेत्रमा काम गर्दै आएको परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान,वर्गिकरण,प्रशीक्षण र व्यवस्थापन गर्दै आएको जनाएको छ । परियोजनाले लक्षित जिल्लामा रहेका अपाङ्गहरुको पहिचान र वर्गिकरण गरी उनीहरुको अवसरका लागि रोजगारदातासँग सहकार्य गर्दै आएको परियोजनाका बुटवल क्लस्टर म्यानेजर राम दयाल यादवले बताए । उनले भने “ परियोजनाले रुपन्देही,कपिलवस्तु लगाएत ५ जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुको क्षमता पहिचान गरी विभिन्न तहमा वर्गिकरण गर्दै उनीहरुको अवसरका लागि सहजीकरण तथा रोजगारदातासँग समन्वय गरेर रोजगारको व्यवस्थापन गर्दै आएको छ ।’
कार्यक्रममा द लेप्रोसी नेपालका राष्ट्रिय निर्देशक शोभाखर कंडेलले परियोजनाले हालसम्म १० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर तथा रोजगार व्यवस्थापन गरेको बताए । उनले भने ‘हामीले हालसम्म १० हजार बढीलाई व्यवस्थापन गरिसकेका छौं भने १५ हजार बढीलाई पहिचान तथा वर्गीकरण गरेका छौं । हाम्रो यस कार्यमा सञ्चार र सञ्चारकर्मीको भूमिका पनि महत्वपूर्ण हुन्छ । त्यसैले सञ्चारकर्मीहरुले अपाङ्गता क्षेत्रमा थप कलम चलाउन अनुरोध गर्दछौं ।’
त्यसैगरी परियोजनाका व्यवसाय वित्त अधिकारी ढाकाराम अधिकारीले अपाङ्गताप्रति सकारात्मक सोँचको विकास, औपचारिक तथा स्वरोजगार जस्ता विषयमा परियोजना केन्द्रित रहेको बताउँदै अपाङ्गता साझा सवाल हुनाले सञ्चारकर्मीहरु र परियोजनाको सहकार्य आवश्यक रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले शारीरिक रुपमा कमजोर भएता पनि उल्लेख्य सक्रियता र सफलता हासिल गरेको बताउँदै रुपन्देहीका सञ्चारकर्मीहरुले उनीहरुका विषयमा कलम चलाउँदै आएको बताए । उनले भने ‘अपाङ्गता भएका व्यक्तिहरुमा पनि विशेष क्षमता हुने गर्दछ, हामीले त्यस्ता व्यक्तिहरुको बारे कलम चलाउँदै आएका छौं । फाउण्डले महासंघसँग समन्वय गरेकोमा थप सहज भएको छ । आगामी दिनमा अपाङ्गता सम्बन्धी सामग्रीहरु बढ्नेछन् भन्नेमा विश्वास छ।’
फाउण्ड परियोजनाले रुपन्देहीमा अपाङ्गता भएका हजार बढीको पहिचान गरी ६ सय बढीलाई वार्षिक रोजगारको व्यवस्था गरेको जनाएको छ । परियोजनाकी रोजगार परामर्श अधिकृत राधा भट्टराईले कार्यक्रमको सञ्चालन तथा सहजीकरण गरेकी थिइन् । रुपन्देहीका ४० बढी सञ्चारकर्मीको सहभागिता रहेको थियोे ।
प्रतिक्रिया