माघ बीस अर्थात् मेरो जन्मदिन । मेरो जन्मदिनमा म भन्दा पनि धेरै उत्साहित मेरो मम्मी बाबालाई देख्छु । उहाँहरूलाई थाहा छ छोरीलाई Birthday Celebrate गर्न र सानो सानो surprise gift निकै मन पर्छ भनेर । त्यसैले mummy मेरो प्रत्येक birthday मा केहि न केहि उपहार दिने गर्नु हुन्छ । बाबालाई भने त्यस्ता कुरामा खासै मेसो छैन तर, बाबा मलाई निकै स्नेह गर्नु हुन्छ ।
घरमा म सवैकी प्यारी छु । दादा पछिको म घरको दोस्रो सन्तानको रूपमा जन्मिएकि हुँ । दादा र मेरो बिचमा धेरै वर्षको अन्तर छैन त्यसैले पनी होला हामी अत्यन्तै झगडा गथ्र्यौं र अनी मिल्थ्यौं पनि । म सबैको राम्रो हेरचाह र प्रशस्त मायामा हुर्किँदै थिएँ । मम्मीले भने अनुसार कसैले बोलाउँदा, काखमा राखेर खेलाउँदा म अर्कोतिर फर्किएर हाँस्ने गर्थेरे मम्मि बाहेक अरू कसैको काखमा जान नमान्ने, डाँडिमा राखेर हल्लाउँदा तर्सिने जस्ता अनौठो व्यवहार देखाउँदा मम्मीको मनमा हल्का चिसो पसिसकेको रहेछ । तर, कसैसंग केहि भन्नु भएनछ ।
म जन्मिएको करिब सात महिना पछि जनैपूर्णिमाको दिन मम्मी बाबाको भेट ठूलोबाबासँग भएछ । ‘छोरी कति सप्रिएकि रैछ’ भन्दै ठूलोबाबाले मलाई काखमा लिनुभयो रे । ‘खै भिनाजु छोरी राम्रै सप्रिएकि त छन् तर, आँखा देख्ने हो कि होइन ’ अचानक मम्मीको मुखबाट यस्तो कुरा सुन्ने बित्तिकै ठूलोबाबाले एउटा फूल टिपेर मेरो हातमा दिन खोज्नु भएछ । आँखा नजिकै लगेर त्यो फूल राखिदिँदा पनि मेरो कुनै प्रतिक्रिया जस्तै– हातमा फूल लिएर च्यात्चुत नपारेको, मुखमा नराखेको देखिसके पछि उहाँहरूलाई पक्का भएछ कि छोरी आँखा देख्न सक्दिन भनेर।
अचेल मम्मीले यी सब कुराहरू सुनाइरहँदा अरू कसैको कहानी सुन्दैछु जस्तो लाग्छ । दृष्टिविहिन म भएकि थिए अन्धकार हाम्रो परिवारमा छाएको थियो । मेरो वास्तविक अवस्था थाहा पाएपश्चात मेरो आँखाको उपचारको क्रममा नेपालमा रहेका नाम चलेका सबैजसो अस्पताल पुर्र्याउनु भयो । तर मेरो आँखाको रेटिनामा समस्या भएको कारण उपचार असम्भव थियो । त्यसपछि मम्मि बाबा झन् चिन्तित हुन थाल्नुभयो, भनिन्छ सन्तानको पीर सबै भन्दा बढी आमालाई हुन्छ रे । मेरि मम्मी पनि मेरो पीरले रातदिन रोइरहन थाल्नुभयो ।
आखिर आमा बाबु न हुन् सन्तान जस्तोसुकै भए पनि माया ममता त उत्तिकै हुने रहेछ । मम्मी बाबाको न्यानो काख र प्रचुर स्नेहमा म बिस्तारै हुर्किन थाले। ठूलि हुँदै जाँदा अरूका छोराछोरी जस्तै म पनी घर वरिपरि निस्केर खेल्न थाले, साथी बनाउन थाले। मेरो बाल्यकाल अरूको जस्तै सामान्य रूपमा बित्दै थियो । किनकी मम्मी बाबाले मलाई कहिल्यै पनी फरक व्यवहार गर्नु भएन । मैले म दृष्टिबिहिन हुँ भन्ने कुराको महशुस गर्न दिनुभएन । मलाई खेल्न वा कुनै पनी कुरामा रोकतोक गर्नु भएन । तथापि उहाँहरूलाई मेरो भविष्य कस्तो होला, मैले के गरि खाउँला, पछि मेरो हेरविचार कसले गरिदेला जस्ता प्रश्नहरूले पिरोलिरहन्थ्यो ।
एकदिन उहाँहरूले दृष्टिविहिनहरूले पढ्न पाउने स्कूलको बारेमा खोइ कताबाट थाहा पाउनु भएछ । बाबाले मलाई पाल्पा दमकडास्थित एउटा स्कूलमा लगेर राखि दिनु भयो जहाँ विशेष छात्राबासको सुविधा रहेछ ।सात वर्षको सानो उमेरमा आमा बाबाको न्यानो काख चटक्क छोडेर अन्जान ठाउँमा बस्नुपर्दा मेरो हालत के भयो होला अहिले म शब्दमा व्यक्त गर्न सक्दिन ।
घरको खूब याद आउँथ्यो
बिदामा घर आएपछि स्कूल जान मन लाग्दैनथ्यो किनकी त्यहाँ न त बालमैत्री वातावरण थियो, न त मम्मि बाबाको काख, न मलाई माया गरेर जिस्काइरहने दादा न त थियो मसंगै खेल्ने र मलाई सताइरहने मेरो सानो भाई । केहि समयपछि आफू जस्तै साथिहरू संग घुलमिल हुँदै गएपछि अलि सजिलो महशुस गर्न थालेँ ।
तर, हातका औँलाहरू काखमा भएको किताबमा भए पनी घर सम्झेर आँखाबाट आँसुका ढिकाहरू त्यहि काखको कितावमा थाहै नपाइ खसिरहेको हुन्थ्यो ।यसरी केहि कष्टकर समय दमकडा माध्यमिक विद्यालयमा बिताएपछि २०५९ सालमा कक्षा पाँच देखि मैले शान्ति नमुना माविमा पढ्न थालेँ । यहाँ पनि हामी छात्राबासमै बस्थ्यौँ । तर, मेरो घर बुटवल भएकाले म हप्तामा एकपटक घरमा आउन सक्थेँ ।
यसरी मैले मेरो पढाइलाई निरन्तरता दिँदै गएँ । पछि एघारदेखि स्नातक तहसम्मको अध्ययन मैले सिद्धार्थ गौतम बुद्ध क्याम्पसबाट पूरा गरेँ । यस बेला मैले घरपरिवारबाट टाढा हुनु परेन ।
म घरबाटै साथिहरू संग कलेज आउने जाने गर्थेँ । यसै क्रममा शिक्षक सेवा आयोगको विज्ञापन खुल्यो र मैले पनी कडा मेहेनत गरी पढे । सोहि अनुसार प्राथमिक तहमा नाम निकाल्न सफल भएँ ।
मेरो पोस्टिङ् मणिग्राममा रहेको गिर्वाण मा.वि.मा भयो। त्यहाँको नौलो वातावरणमा घुलमिल हुन केहि दिन लाग्यो तर सम्पूर्ण सहकर्मी साथिहरूको आत्मिय व्यवहारका कारण मलाई खासै असहज भएन । घरदेखि विद्यालय अलि टाढा भएकाले सधैँ जसो बाबाले मलाई स्कूल पूर्याइदिनु हुन्थ्यो भने घर फर्किने समयमा सर म्यामहरूले कहिले मणिग्राम चोक त कहिले ड्राइभरटोलसम्म ल्याएर गोलपार्क जाने माइक्रो बसमा चढाइदिने गर्नुहुन्थ्यो । एकातर्फ मैले उहाँहरूबाट सदभाव, सहयोग र आफ्नोपन पाइरहेकि थिएँ भने अर्कोतर्फ मेरो आत्मबल पनी बढ्दै गईरहेको महशुस हुँदै थियो ।
एकदिन घर फर्किँदै गर्दा मलाई एकजना यात्रुले सोध्नु भयो ‘तपाइँ कहाँ पढाउनु हुन्छ मिस?’ मैले सजिलै उत्तर दिए “गिर्वाण स्कूल।’ अनि उहाँले भन्नु भयो ‘तपाइँलाई नियमित स्कूल आउ–जाउ गरेको देख्छु तपाईँलाई देख्दा मलाई निक्कै दुःख लाग्छ।’अचम्म लाग्यो किनकि उहाँ स्वयम् एउटा निजी स्कूलमा पढाउनु हुन्थ्यो । तर म त सरकारी शिक्षकको पोसाकमा थिएँ।
‘मान्छेको मनोविज्ञाना बुझ्नै गार्हो’ भने मलाई केहि प्रतिक्रिया दिन मन लागेन । यसरी करिब पाँच वर्ष त्यस विद्यालयमा व्यतित गरेपछि मेरो सरुवा भयोअहिले म घर नजिकैको कान्ति मावि मा पढाउँदैछु । आजकल मेरो मम्मी बाबा मलाई र मेरो प्रगति देखेर निक्कै खुसी हुनुहुन्छ । मेरो सङ्घर्षमा सदैव मसँगै रहनु हुने मेरा अभिभावकप्रति नमन ।
मलाई देख्ने, भेट्ने धेरै जसोलाई लाग्छ कि मैले आँखा नदेखेकै कारण म धेरै दुःखी मेरो सारा जीवन अँध्यारो मै बितिरहेको होला, मेरो दैनिकी एकदम कष्टपूर्ण छ, मेरो परिवार मेरै कारण दुःखी छन् आदि इत्यादि । यो सब हजुरहरूको भ्रम मात्र हो।
म मेरो जीवनसंग अत्यन्तै सन्तुष्ट र खुसी छु । मेरो अभिभावक मप्रति गर्व गर्नुहुन्छ । उहाँहरूकै हौसला, साथ, प्रेरणा र ममताका कारण आज मेरो सङ्घर्षले केहि हदसम्म सार्थकता पाएको छ । मेरो हालसम्मको जीवनकालमा मलाई निरुत्साहित गर्ने, असहयोग गर्ने, मेरो क्षमतामाथि औँला उठाउने, मेरो अपाङ्गतालाई कमजोरीका रूपमा लिएर प्रहार गर्ने अविवेकी मानिसहरू नभेटिएका होइनन् ।
तर, मलाई त्यस्ता मानिसका व्यवहारले खासै फरक पार्दैन । ओहो मैले कस्तो बिर्सिएको आज मेरो जन्मदिन पो त (माघ २०) । हिजो बेलुका मम्मी,बाबा खासखुस गरेको सुन्दै थिएँ केहि विशेष छ की ! Surprise के रहेछ फेरि अर्को भेटमा भनौला है !
प्रतिक्रिया