ताजा अपडेट »

सिक्टा सिँचाइ आयोजना: पूर्वी शाखा नहरको ६५ प्रतिशत निर्माण पूरा

बुधबार, ०४ फागुन २०७८

नेपालगञ्ज । बाँकेका किसानका लागि सबैभन्दा बढी महत्त्वको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको मुख्य बाँधस्थल अगैयादेखि पूर्वी क्षेत्रको ५३ किलोमिटरको पूर्वी शाखा नहर निर्माणको कार्य ६५ प्रतिशत पूरा भएको छ ।
पूर्वी नहरको ५३ किलोमिटर क्षेत्रमध्ये ३८ किलोमिटर क्षेत्रसम्म नहरका स्ट्रक्चरहरू निर्माण भइसकेको र नहर फिनिसिङको काम भइरहेको सिक्टा सिँचाइ आयोजनाका निर्देशक सन्तोष कैनीले बताए ।

उनले सो शाखा नहरलाई अगैयादेखि विनौना, बैजापुर, फत्तेपुर हुँदै नरैनापुरसम्म पु(याउने योजना रहेको बताए । आयोजनाका निर्देशक कैनीका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्म पूर्वी नहरमा राप्ती नदीको पानी छाडेर पाँच हजार हेक्टरमा सिँचाइ उपलब्ध गराउने लक्ष्य आयोजनाको छ ।

तर बाँकी १५ किलोमिटर मूल नहरमा विभिन्न चुनौती देखिएकाले सो चुनौती पन्छाएर निर्माण प्रक्रियालाई अगाडि बढाउने कार्य भइहेको उनले बताए।उनले बाँकी रहेको १५ किलोमिटर नहर निर्माणको रेखाङ्कन गर्ने कार्य चालू आर्थिक वर्षमा नै सम्पन्न गरेर जग्गा अधिकरण र मुआब्जाको समस्या पनि समाधान गरिने बताए । त्यसका लागि तयारी चलिररहेको जनाउँदै निर्देशक कैनीले यसै वर्षको असार मसान्तसम्म टेन्डर निकालेर बाँकी नहर निर्माणलाई पनि अगाडि बढाउने तयारीमा आफूहरू लागेको बताए ।

सधँै आकाशे पानीको भरमा खेती गर्दै आएका सो क्षेत्रका किसानले आफ्नो खेतबारी नजिक नहर पुग्दै गरेको देखेपछि नहरको पानीको उपयोगपछि उत्पादन बढ्नेमा निकै आशावादी देखिएका छन् । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले सिक्टाको पूर्वी नहरले यस क्षेत्रको कृषिमा क्रान्ति नै ल्याउने अपेक्षा गरिएकाले अधिकांश किसानले छिटो नहरमा पानी बगेको देख्न चाहेको बताए।

नहर निर्माण भएर पानी बगेपछि राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका १२ हजार २७५ घरका किसानको नौ हजार हेक्टरमा सिँचाइ सुविधा पु(याउने उद्देश्य आयोजनाको छ । यसअघि नै मुख्य बाँधस्थल अगैयाबाट ४५।३ किलोमिटर पश्चिमी मुख्य नहरको निर्माण पूरा गरेर सो नहरमा पानी छोडिएको छ । उक्त नहरबाट करिब ३० हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ ।

बाँके जिल्लाको करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु(याउने उद्देश्यले १४ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा हालसम्म १५ अर्ब रुपियाँभन्दा बढी खर्च भइसकेको छ ।-गोरखापत्र