ताजा अपडेट »

कार्यव्यवस्था परामर्शको बैठकमा एमाले सहभागी नहुने

बुधबार, ०४ फागुन २०७८

काठमाडौं । प्रतिनिधिसभा संसदको बैठक अगाडि बुधबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने बताइएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने जानकारी दिए । ‘संसदीय काम, कारबाहीमा भाग लिने र छलफल गर्ने वातावरण नै उनीहरुले बनाए । सभामुखद्वारा पनि हाम्रो कुराको सुनुवाई भएन ।’, एमाले सहभागी भए पनि त्यसको कुनै अर्थ नभएको उनको भनाइ छ ।

प्रतिनिधिसभा संसद पुर्नस्थापना भएदेखि नै एमालेले १४ जना सांसदको कारबाहीको माग राख्दै संसदमा निरन्तर विरोध जनाउँदै आएको छ । बुधबार बस्ने संसदको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालगायतका विषय टेबल हुने भनिए पनि एमालेले यसमा सकारात्मक धारणा देखाएको छैन ।