कार्तिक १९,
ग्लोबल आवाज
सिमकोट । हुम्ला जिल्लामा उत्पादन भएको अर्गा्निक बन्दाले बजार पाउन नसकेपछि कुहिने डरले किसानहरु चिन्तित भएका छन् । बन्दाको उत्पादन बढी हुनु र बजार सानो हुँदा बन्दा बिक्रीमा समस्या आएको हो । व्यवसायीक रुपमा तरकारी खेतीको सुरुवात गर्नु भएका सिमकोट गाउँपालिका वडा नम्बर ५ का धर्मराज रोकायाले लगाएको बन्दाले बजार पाउन नसकेपछि अब सो बन्दा कुहिने चिन्ता उनमा रहेको छ ।
दुई रोपनी जमिनमा बन्दा र अन्य तरकारी लगाएको भएपनि अरु तरकारी बिक्री भए पनि बन्दा बिक्री हुन नसकेको उनले बताए । अहिले पनि उनको करेसाबारीमा १२ देखि १५ क्वीन्टल बन्दा त्यति कै बारीमा रहेको र चिसोले सुक्न थालेको छ । उनलाई अहिले उक्त बन्दालाई कसरी जोगाउने भन्ने पिरलो बढी छ । यता डेढ रोपनी जग्गामा बन्द लगाउनु भएका सिमकोट ५ कै धना रोकायाको तरकारी बारीमा पनि बन्दा बिक्री हुन नसके पछि त्यतिकै चिसोले सुक्न थालेको छ । केही कमाई हुने आशामा लगाएको बन्दा बिक्री नभए पछि उनमा पिरालो सुरु भएको छ । भण्डारण गर्न नमिल्ने भएपछि अब थन्क्याएर पशुलाई दिनुको बिकल्प नभएको उनले बताए । हाल उनले बारीमा आठ देखि दश क्वीन्टल बन्दा त्यति कै सुक्न थालेको छ । बन्दाको मुल्य चालिस रुपियाँ प्रतिकेजी रहेको छ । त्यो भन्दा पनि सस्तोमा बिक्री गर्न किसानहरु तयार रहेका छन् ।
दुुई जना किसान त नमूना मात्र हुन् । यस पाली सिमकोट गाउँपालिका वडा नम्बर १ देखि ८ सम्मका डेढ सय भन्दा बढी किसानहरुको बारीमा उत्पादन भएको बन्दा बिक्री हुन नपाए पछि त्यति कै खेर गएको छ । ती किसानहरुसं एकदेखि दश भन्दा बढी क्वीन्टल बन्दा त्यति कै रहेको छ । ढुवानी समस्या भएपछि जिल्ला बाहिर पनि लिन नसकिने भएको हुँदा यो बन्दा सबै खेर जाने भएको छ । हुम्लामा यस पाली बन्दाको उत्पादन राम्रो भएपनि बजार नपाउदा किसानहरुलाई यो खेती प्रति नैरास्यता आउने उनीहरु बताउन थालेका छन् । - गोरखापत्र अनलाइन
प्रतिक्रिया