कार्तिक १९,
ग्लोबल आवाज
काठमाडौँ । भारतको राजधानीसहित विभिन्न शहरमा वायु प्रदूषणले खतराको विन्दु पार गरेको छ । दिल्लीमा देखिएको वायु प्रदूषणका कारण सारा भारतमा समेत चिन्ता व्यक्त हुन थालेको छ ।दिल्लीसँगे उत्तर प्रदेशका केही शहरमा समेत वायुको गुणस्तर खराब हुँदै गएको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले पछिल्लो पटक हरियाणाको जिन्द शहर सबैभन्दा बढी प्रदूषित रहेको बताएको छ । बोर्डका अनुसार १० वटा अति प्रदूषित शहरमा राजधानी दिल्ली भने परेको छैन् ।
सोमबारमा भने वायुको गुणस्तर गम्भीरबाट खराबमा पुगेपछि दिल्लीबासीलाई केही राहत भने मिलेको छ । सबैभन्दा प्रदूषित शहरमा जिन्दसहित उत्तर प्रदेशको बागपत, गाजियाबाद, हापुड़, लखनऊ , मुरादाबाद, नोएडा , ग्रेटर नोएडा , कानपुर र हरियाणाको सिरसा रहेका छन् ।उत्तर प्रदेशका अधिकांश शहरमा वायुको गुणस्तर खराब बन्दै गएको बेला काठमाडौंमा पनि वायु प्रदूषण गम्भीर बन्ने हो कि भनेर चिन्ता व्यक्त हुन थालेको छ । सोमबार मध्यराति काठमाडौं, ललितपुर र भक्तपुरमा पोलेको गन्ध फैलिएपछि उपत्यकाबासीमा वायु प्रदूषणको संत्रास फैलिएको छ । सामाजिक सञ्जाल फेसबुकमा धेरै जनाले पोलेको गन्ध महसुस गरेको बताएका छन् । तर एक्कासी पोलेको गन्ध कहाँबाट फैलिएको थियो भनेर प्रस्ट भइसकेको भने छैन ।
ललितपुरको एकान्तकुना, मंगलबजार, कुसुन्ती, च्यासल, पुल्चोक, कुमारीपाटी, सातदोबाटो, गाबहाल आदि ठाउँका बासिन्दाहरुले राति अबेरसम्म पोलेको गन्ध आएको बताएका छन्। अझ कतिपयले त मान्छे पोलेको जस्तो गन्ध आएको समेत बताएका छन्। त्यसैगरी काठमाडौँमा पनि बानेश्वर, अनामनगर, धोबिखोला, तीनकुने, सुविधानगर आदि ठाउँमा गन्ध आएको त्यहाँका बासिन्दाहरुले फेसबुकमा लेखेका छन्। रातो मच्छिन्द्रनाथ नामको एउटा फेसबुक पेजमा राति राति यस्तो गन्ध आएको चौथो पटक भएको लेखिएको छ। त्यसको कमेन्टमा र त्यो पोस्टलाई सेयर गर्नेहरुले पनि आफूहरुलाई पनि गन्धले असर पारेको लेखेका छन्। त्यसैगरी फेसबुकका अरु विभिन्न ग्रुपहरुमा पनि गन्धको खबर फैलिएको छ। कतिपयले उत्तर प्रदेशको प्रभाव समेत काठमाडौंमा देखिएको प्रतिक्रिया दिएका छन् । तर काठमाडौंको प्रदूषणको स्तर दिल्लीको तहमा भने पुगिसकेको छैन । - साझापोष्ट
प्रतिक्रिया