ताजा अपडेट »

महङ्गो उपहार हैन निःस्वार्थ माया गरौं

सोमबार, ०२ फागुन २०७८

प्रेम एक पवित्र सम्बन्ध पनि हो । खासगरि आज फेब्रुअरी १४ अर्थात फागुन २ गते प्रणय दिवस पनि । यसलाई हामीले प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे पनि भन्ने गर्छौ ।

विशेष गरि आज एक अर्कामा मायाप्रेम साटा-साट गर्ने पनि गरिन्छ । धेरैले आजकै दिनलाई आफ्नो प्रेमी वा प्रेमिकासँग जोडिने दिनका रुपमा पनि मनाउने गर्छन् । अझ भनौ कतिपयले यसलाई देखावटीको रुपमा पनि मनाउने गर्छन् ।

यो भनिरहेका मलाई प्रणय दिवसमा प्रेमी प्रेमिका बिचमा भएको देखासिकी प्रवृत्ति अझै पनि हाम्रो समाजमा बढी नै छ कि जस्तो लाग्छ । हो हामी कसैलाई प्रेम गर्छौ भने मनदेखी गर्नुपर्छ हैन भने बनाबटी रुपमा एकदिनको प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे ले केही पनि हुँदैन ।

पुस्ता पुस्तान्तरमा भाका, भाषाशैली, फरक भए पनि माया प्रेमका कहानी नबोक्ने सायदै कमै होलान् । समाज अनुसार प्रेम एक आपसमा साटा-साट भएकै हुन्छ ।

कतिपय प्रेम सफल भएर सहयात्राको गोरेटोमा कथाहरु लेखिए होलान त कतिपय असफल भएर बिछोडको कहानी पनि लेखिए होलान् । जे जस्तो भए पनि माया माया नै हुन्छ कुनै प्रेम असफल हुँदैमा संसार रित्तिएको पनि मानिदैँन ।

हामी आफ्ना बुवा आमा, दाजुभाई,दिदिबहिनी जो सँग पनि एकापसमा प्रेम साटासाट गरिरहेकै हुन्छौ । मायाले हाम्रो जिवनमा सकारात्मक सोचाई अनि भाव ल्याउछ भने सम्बन्ध पनि बलियो बनाउछ । संसारमा स्वर्ण अक्षरले कुँदिरहेका प्रेम कथाहरु संयोगान्त भन्दा पनि वियोगान्त धेरै छन् ।

यस दिनलाई हामी दुईले महत्त्वका रुपमा हेर्दैनौ किन कि हामी बिच अन्य दिनहरुमा पनि प्रेम सधा रहिरहन्छ । न कुनै फुल दिएर जिन्दगी सुन्दर बन्छ न त कुनै चकलेट नत कुनै महङ्गो उपहारले नै सुखी त केवल मिठो बोली अनि निस्वार्थ व्यावहारले मात्रै दिन्छ ।

आजका दिनमा जस्तो साथ भोलीका दिनमा पनि रहिरहोस। मायामा कमि न आओस् अनि दुस्ख सुखमा त्यो हात सधै मेरो काँधमा रहोस् । अनि हाम्रो सम्बन्ध साथमा कहिल्यै कसैको नराम्रो दृष्टि नलागोस । प्रेम अमर रहिरहोस मेरो उनीलाई पनि प्रणय दिवसको शुभकामना ।