ताजा अपडेट »

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका बाहिरियो

मंगलबार, १९ कार्तिक २०७६

कार्तिक १९,
ग्लोबल आवाज

काठमाडौँ । अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोले अमेरिकाको सो निर्णयले आफूलाई दुःख लागेको कुरा मङ्गलबार चीनमा बताएका हुन्।

चीनको औपचारिक भ्रमणमा रहेका उनले अमेरिकाको यो निर्णयपछि जलवायू परिवर्तनका क्षेत्रमा अब चीन र फ्रान्सको विशेष साझेदारिता आवश्यक रहेको धारणा पनि राखेका थिए। राष्ट्रपति म्याँक्रोले भने 'अमेरिकाको यो निर्णयले हामीलाई निकै दुःख लागेको छ र मलाइ लाग्छ अब विश्वमा जलवायू परिवर्तन तथा जैविक विविधताको क्षेत्रमा फ्रान्स र चीनको अलग्गै साझेदारिताको आवश्यकता रहेको छ।' चीन भ्रमणका क्रममा आफू र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच जलवायू परिवर्तनका विषयमा विशेष सम्झौता हुने पनि बताइएको छ। बुधबार द्विपक्षीय वार्ताका क्रममा हुने सो सम्झौता जलवायू र जैविक विविधताका क्षेत्रमा अपरीहार्य विषय रहेको पनि सो समाचारमा जनाइएको छ।

यस निर्णयसम्बन्धी पत्राचार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसलाई मङ्गलबार औपचारिक रुपमै गर्नुभएको बताइएको छ।संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताले अमेरिकाले पत्र लेखेको उक्त कुराको पुष्टि गरेको छन्।उनले भनेका छन् 'महासचिव गुटर्रेसले संयुक्त राज्य अमेरिकाले सन् २०१५ डिसेम्बर १२ मा गरेको पेरिस सम्झौताबाट हट्न अमेरिकाले पठाएको पत्र प्राप्त गरेका छन्।'यसअघि फ्रान्स तथा उक्त सम्झौतामा हस्ताक्षर गरेका विश्वका नेताहरुले पनि उक्त सम्झौताबाट पछि नहट्न अमेरिकालाई आग्रह गर्दै आएका थिए ।- एजेन्सी